अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि

अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि

अमेरिकाको नर्थ क्यारोलिना कुकुरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक घरपालुवा कुकुरमा सार्स-कोभ-२ भाइरस फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डुक युनिभर्सिटीका अनुसन्धानकर्मीले न्युयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिनलाई दिएको जानकारीअनुसार अमेरिकामा कुकुरमा कोभिड-१९ भेटिएको यो पहिलो घटना हो ।

अमेरिकामा गत २२ अप्रिलमा न्युयोर्कका फरक स्थानमा दुईवटा घरपालुवा बिरालामा पनि सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

न्युयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि ५ अप्रिलमा सार्स-कोभ-२ को संक्रमण फेला परेको थियो।

कुकुरमा सार्स-कोभ-२ भेटिएको परिवारका बाबु, आमा र छोरामा कोभिड-१९ पोजिटिभ पाइएको थियो।

ड्युक युनिभर्सिटीका अनुसन्धानकर्मीले मानिसको शरीरबाट कसरी कुकुरमा कोरोना भाइरसको संक्रमण सर्‍यो भन्‍नेबारे अनुसन्धान जारी राखेका छन् ।

गत फेब्रुअरीको अन्तिममा हङकङमा मानिसबाट जनावरमा भाइरस सरेको फेला परेको थियो। हङकङमा कुकुरमा कोरोना भाइरस उसका मालिकबाट सरेको जनाइएको थियो ।

यसैबीच,  विशेषज्ञहरुले कुकुरहरूमा सुघ्ने शक्ति तीब्र हुने भएका कारण कोरोना भाइरस पत्ता लगाउन सक्ने दाबीसहित परीक्षण समेत थालेका छन् ।

चैरिटी मेडिकल डिटेक्शन डग्सले कुकुरहरूलाई मलेरिया, क्यान्सर र पार्किन्सनको सुगन्ध पत्ता लगाउन प्रशिक्षण दिइसकेको छ।

लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन (LSHTM)ले कोरोना महामारी परीक्षण गर्न कुकुरलाई प्रयोग गर्ने योजना अघि सारेको हो । 

डा. क्लेयर गेस्टले भनिन्, “सिद्धान्तमा, हामी निश्चित छौं कि कुकुरहरूले कोभिड-१९ पत्ता लगाउन सक्नेछन् ।”