नेविसंघ नेता दिपेन्द्र सिंहको पहलमा क्वारेन्टाइनमा बसेकालाई साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक वितरण

नेविसंघ नेता दिपेन्द्र सिंहको पहलमा क्वारेन्टाइनमा बसेकालाई साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक वितरण

डोटी- विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड-१९) ले महामारी लिइरहेका बेला नेपाल समेत अछुतो छैन । कोरोना भाइरस फैलने डरले विश्वा नै लकडाउनमा छ । नेपालमा समेत लकडाउन भएको पाँच हप्ता भन्दा भढी भइसकेको छ । लकडाउनले आजसम्म आइपुग्दा नेपालमा विपन्न तथा मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन्।

अहिले जिल्ला जिल्लामा विपन्न तथा मजदुरी गरेर खाने वर्गलाई नेपाल सरकार तथा केही संघ संस्थाले राहत सामग्री वितरण गरिरहेका छन् । तर डोटीमा भने लकडाउनको समयमा एकजना व्यक्तिको एकल प्रयासबाट राहत तथा अन्य सामाजिक कार्य भइरहेको छ ।
उनको एकल प्रयासमा ठूलो मात्रामा राहत सामग्री संकलन भइरहेको छ । डोटी सायल गाउँपालिका वडा नम्बर २ घर भएका नेविसंघका नेता समेत रहेका दिपेन्द्रबहादुर सिंह अहिले यस्तो सामाजिक कार्यमा अग्रसर भएका छन् । लकडाउनको अवस्थामा अधिकांश व्यक्ति घरमै भसिरहेका बेला सिंह भने राहत संकलनका लागि दौडधुपमै रहेका पाइन्छन् ।

औषधिको अभावमा र भोको पेटमा कसैले बस्न नपरोस् भन्ने उद्देश्यका साथ आफूले अभियान संचालन गरेको सिंहले बताए । अहिलेसम्म करिब तीन सय पचास बोरा चामल, दुई सय किलोग्राम दाल तथा एक सय पोका नुन समेत संकलन भइसकेको छ, सिंहले भने, तीन हजार वटा मास्क समेत ल्याएका छौं, अझै दाताबाट राहत सामग्री सहयोग भइरहेको छ ।
जिल्ला प्रशासन तथा सम्पूर्ण स्थानीय तहहरुको समन्वयमानै अभियान अगाडि बढाइरहेकाले स्थानीय तहको माग अनुसार तथा आवश्यकता अनुसार जिल्लाभरी राहत सामग्री वितरण गर्ने उनले बताए।
उनको कार्यमा अहिले स्थानीय सरकारको साथ रहेको छ। सामाजिक कार्य गर्ने जोसुकै पनि हाम्रा सहयोगी हुन सक्छन्, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, दिपेन्द्रले क्वारेन्टाइनमा बसिरहेका व्यक्तिका लागि समेत पुस्तक वितरण गरेका छन्, राहत सामग्रीका लागि समेत हामीले उहाँसँग कुरा गरेका छौं।
 

क्वारेन्टाइनमा बसेकालाई पुस्तक 

भरखरै सिंहले लकडाउनको अवस्थामा क्वारेन्टाइनमा बसेकालाई साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक वितरण गरेका छन् । क्वारेन्टाइनमा बस्दा मानसिक तथा अन्य कुनै समस्या नआओस् भन्नका लागि पुस्तक वितरण गरेको सिंहले बताए ।
काठमाडौं तथा धनगढीबाट घर फर्केका जिल्लाको केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ६५ जनालाई विभिन्न साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक वितरण गरेको उनले बताए । उनले क्वारेन्टाइनको समय ज्ञान प्राप्तीमा सहयोगी होस् भन्ने उद्देश्यले विभिन्न पुस्तक पसलको सहयोगमा पुस्तक वितरण गरेको बताए ।
 

दीर्घरोगीका लागि निःशुल्क औषधि

सामाजिक अभियन्ता एवं नेविसंघका नेता दिपेन्द्रबहादुर सिंहले लकडाउनको समयमा जिल्लामा रहेका दम, प्रेसर, सुगर लगायत दीर्घरोगीका लागि निःशुल्क औषधिको समेत व्यवस्था गर्ने भएका छन् । विभिन्न औषधालयको सहकार्यमा उक्त अभियान अघि बढाइरहेको सिंहले बताए।
 वितरणको काम सुरु भएको छैन, सिंहले भने, औषधि संकलन हुने कार्य सुरु भएको छ, शनिबारदेखि नै हामी दीर्घ रोगीको घरमै गएर निःशुल्क रुपमा औषधि वितरणको काम सुरु गर्छौं ।