कोरोनाको वैकल्पिक उपचार पद्धतिको बाटो खुल्यो

कोरोनाको वैकल्पिक उपचार पद्धतिको बाटो खुल्यो

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी ९लकडाउन० नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ ।

नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने उपाय निर्देशिकामा उल्लेख छ । ‘‘घरैमा उपलब्ध जडीबुटीजन्य सामग्रीको कसरी प्रयोग गर्न सकिन्छ, क्वारेन्टाइनमा रहेका बेला र घरमा बस्दा आउने निराशापन र डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ तथा पूर्वीय संस्कृतिको मानक रहेको योग अभ्यास र व्यायामले शरीर कसरी तन्दुरुस्त राख्न सकिन्छ भन्ने कुरा पनि निर्देशिकामा छ,’’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने ।

निर्देशिकाले कोरोनासहित अन्य भाइरसजन्य सङ्क्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल हुनुपर्नेमा जोड दिएको छ । आयुर्वेद उपचार पद्धतिअन्तर्गत रहेको जडीबुटी तथा होमियोपेथिक उपचारले भाइरस नलाग्दा र लागिसकेको अवस्थामा प्रतिरोध क्षमता बढाउन सघाउने निर्देशिकाले जनाएको छ । त्यो क्षमता रहेमा सङ्क्रमण छिट्टै निको हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्थित आयुर्वेद चिकित्सा विभागको नेतृत्वमा बनेको निर्देशिकाले नेपालको आफ्नो मौलिक उपचार पद्धतिलाई उजागर गरेको आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले बताएका छन् ।

उनका अनुसार कोरोना भाइरसको कुनै खोप र उपचार पद्धति नबनेको अवस्थामा रोग लाग्न नदिनु र शरीरको रोग प्रतिरोधी क्षमता बढाउनु नै पहिलो दायित्व भएकाले यो निर्देशिका ल्याउनु परेको हो । कोरोनासहितका विभिन्न भाइरसको सङ्क्रमणमा रुघाखोकी, घाँटी दुख्ने, चिसो लाग्ने, ज्वरो आउने विभिन्न लक्षण हुन्छन् ।

यी लक्षणको उपचारका लागि भान्सामै रहेको बेसार, अदुवा, मरिच, मह तथा तुलसीलगायतका जडीबुटीको प्रयोग पहिल्यैदेखि भइरहेको छ । यसलाई निर्देशिकाले वैधानिकता दिएको छ ।

“निर्देशिकाको मुख्य उद्देश्य भनेको क्वारेन्टाइनमा बसेको अवस्थामा, लकडाउनमा रहेको अवस्थामा र आइसोलेसनमा बसेका बेला शारीरिक र मानसिक दुवै किसिमको स्वास्थ्यको समस्या रोक्नका लागि घरमा पाइने जडीबुटीको नियमित सेवन गराउने हो”, उपाध्यायले स्पष्ट पारेका छन् ।

घरभित्रको जडीबुटीसँगै सुठो, मरिच, पिपलाका साथै घर वरिपरि पाइने गुर्जो, असुरो, टिमुरलगायतका जडीबुटी निर्देशिकामा तोकिएका छन् । अहिलेका लागि मात्र नभएर जीवनशैलीका रूपमा जडीबुटीजन्य र आयुर्वेदिक औषधिको प्रयोग गरेमा धेरै रोग लाग्नबाट बचाउने उपाध्यायले बताएका छन् । (गोरखापत्रबाट)