ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जले

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जले

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ ।

गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक घरबाट अर्को घरमा फैलन नदिने गरी २ घण्टाजतिमा आगो नियन्त्रणमा लिइए पनि पूर्णरुपमा निभाउन भने विहान साढे ५ बजेसम्म लागेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

हरेक वर्षजस्तो आगलागी हुँदै आएको ताप्लेजङमा यसअघि २०७१ सालको आगलागीमा ९० परिवार विस्थापित भएका थिए ।