कोरोना सङ्क्रमणबाट सतर्क हुन विश्वलाई पर्याप्त समय दिएको डब्लूएचओको दावी

कोरोना सङ्क्रमणबाट सतर्क हुन विश्वलाई पर्याप्त समय दिएको डब्लूएचओको दावी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीबारे विश्व समुदायलाई पर्याप्त समय हुँदै जानकारी गराएको प्रष्ट पारेको छ ।

संक्रमण रोक्न तथा त्यसबारे विश्व समुदायलाई आवश्यक जानकारी गराउन कुनै पनि ढिलाइ नगरिएको डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको महामारीबारे डब्ल्युएचओले समयमै सूचना दिन नसकेर संक्रमण फैलिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाइरहँदा गेब्रेयेसोसले त्यसको खण्डन गर्दै बचाउ गरेका हुन् ।

जनवरी ३० मै अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गर्दा विश्व समुदायलाई यसविरुद्धको अभियानमा लाग्न पर्याप्त समय प्रदान भएको उनले दावी गरेका छन् ।

उनका अनुसार जनवरी ३० मा स्वास्थ्य आपतकाल घोषणा गर्दा चीन बाहिर ८२ जनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसबेला चिनियाँ नागरिक बाहेक कसैको पनि कोरोना भाइरसको संक्रमणबाट  चीनबाहिर मृत्यु नभएको उनले बताएका छन् ।

कमजोर स्वास्थ्य सेवा भएका अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना उच्च भएकाले विश्व समुदायलाई सचेत रहन उनले आह्वान समेत गरेका छन् ।