गाउँमा कामको चटारो : भारतमा रोगको चिन्ता

गाउँमा कामको चटारो : भारतमा रोगको चिन्ता

धनगढी : विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त छ। कोरोना भाइरस रोकथाम गर्नेकै लागी देश यतीबेला लकडाउनमा छ । कतिपय मानिसहरू लकडाउनकै कारण भोक भोकै बस्नु पर्ने बाध्यता आईलागेको छ । कोरोना भाइरसको महामारीका रूपमा फैलिएको एउटा देश हो भारत ।

जहाँ अहिले ४० हजार भन्दा बढी कोरोना संक्रमित भेटिसकेका छन् भने विश्वमा ३६ लाख मानिसहरू आजको मिति सम्म यस भाइरसबाट प्रभावित भएका छन् । यता नेपालमा पनि ८२ जना संक्रमित भईसकेका छन जस मध्य १६ जना निको भएर घर फर्किसकेका छन ।

यसरी छिमेकी राष्ट्र भारतमा पनि यो भाइरस फैलिन थालेपछि त्यहाँ रहेका नेपाली दाजुभाइहरू ठुलो समस्यामा परेका छन । रोजगारीको खोजी गर्दै त्यहाँ पुगेका लाखौ नेपालीहरु मृत्युको मुखमा पुगेका छन । देशमा रोजगारीका अवसर नपाएकै कारण घरपरिवारको खर्च टार्नकै लागी सुदुरपश्चिम प्रदेशबाट मात्रै लाखौको संख्यामा भारतका बिभिन्न सहरहरुमा काम गर्दै आएका छन ।

भारत सरकारले पनि कोरोना नियन्त्रण गर्नेकै लागी जेठ ४ गते सम्म देश लकडाउनमा राखेको छ । जसको प्रत्यक्ष असर आम नेपालीहरुमा पर्न गएको छ । अहिले भारत लकडाउन हुदाँ त्यहाँ काम गर्ने नेपालीहरु बेरोजगार भएर खान समेत नपाएको दुखेसो पोख्दै आएका छन ।

बन्दाबन्दीका कारण एक ठाउबाट अर्को ठाउसम्म पुग्न सक्ने अवस्था नभएकै कारण उनिहरु अलपत्र परेको छन । यसरी भारतमा कोरोना फैलिरहँदा मलाई पनि डर लागि रहेको छ । यो डर लाग्नु प्रमुख कारण हो, मेरो घरको आधा जनसङ्ख्या पनि भारतमा रहेको छ ।

रोजगारी गर्न भारत गएका मेरो परिवारका बुवा, अंकलहरु सहित आन्टी र भाइबहिनीहरू समेत यति बेला यहि समस्या भोक्दै आएका छन । मलाई प्राय दैनिक जसो डर लागिरहेको हुन्छ । किनकि बुवा, अंकल आन्टी र भाइबहिनीहरू बस्ने ठाउँ वरपर पनि कोरोनाका बिरामी फेला परिसकेका छन् रे ! म  अंकल सँग दैनिक जसो भिडियो कल गरिरहेको हुन्छु ।

अनि भिडियो कलमा अंकल सँग कुरा गर्दै के–कस्तो छ । त्यताको खबर भनेर सोधेको हुन्छु । अंकलले ठिक छ यताको खबर त्यता कस्तो छ भनेर सोध्नु हुन्छ । मैले नि ठिकै छ नेपाल तिर भनेर जवाफ दिरहेको हुन्छु ।

अंकलको एउटै प्रश्न हुन्छ, “सीमा नाका कहिले खुल्छ  ? यतातिर कोरोना तीव्र फैलिँदै छ, नेपाली हामी सबै समस्यामा छौँ ?”

अंकललाई सधैँ मेरो एउटै उत्तर हुन्छ, “अंकल नाका त आजभोलि खुल्दैनन् होला, तपाई त्यहाँ आफ्नो ख्याल गर्नु, बाहिर नजानु जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नु होला ।”

त्यति नभन्दै मेरो सानो ७ वर्ष भाइ आएर बोली हाल्छ दादा तेरो खबर के छ मैले हाँस्दै ठिक छ भाइ मेरो खबर पनि भन्दै उ सँग कुरा गरेको हुन्छु । उसले मलाई सोध्ने एउटै मात्र प्रश्न हुन्छ दादा कहिले खुल्छ लकडाउन मलाई घर आउने मन लागि सक्यो रु म उ सँग जिस्किँदै भन्छु अब खुल्दैन रे भाइ त्यतै सुरक्षित बस्नु है ।

उसले फेरी भन्छ दादा हामी बस्ने घर वरपर पनि बिरामी पर्न थालिसके यता तिर डर लाग्दै छ । उ भन्छ, “दादा–दादा अब लकडाउन खुल्छ अरे अब म छिट्टै घर आउँछु है, यता तिरको चिन्ता नलिनु ।”

तर मेरो त्यो सानो भाइलाई के थाहा लकडाउन अझै कति सम्म हुन्छ भन्ने कुरा । त्यसै गरी आन्टीले पनि त्यही कुरा गर्नु हुन्छ ।

“लकडाउन कहिले खुल्छ होला भित्र बस्दा बस्दै के खाने भन्न चिन्ता छ, भएको रासन पनि सकिसक्यो । अब कसरी बस्ने समस्या हुँदै छ ।”

आन्टीले यस्ता कुरा सुनाउँदा मेरो मन पनि एकछिन त भक्कानी हाल्छ । चैत महिना मै घर आउने भनेर तयारी थियो तर लकडाउनले गर्दा सबै जना भारत मै रोकिएका छन् ।

बुवाको पनि त्यही गुनासो छ, “आफू बस्ने घर वरपर कोरोनाका बिरामी फेला पर्न थालेका छन्, ‘वुबा भन्नुहुन्छ’ ‘रासन र तरकारी ल्याउन पनि जान डर लाग्दै छ, समस्यामा छौ ।”

उनको त्यो दुखेसोले मेरो मनमा सही नसक्नु पिडा हुन्छ । घरमा पनि मम्मी सँगै भाइ र बहिनी छन् । मम्मीले मलाई सधैँ फोन गरेर तेरो बुबाको खबर के छ रु भनेर सोध्नु हुन्छ, मैले मनमा पिडा लुकाएर सबै ठिक छ भन्दै हुनुहुन्थ्यो भनेर मम्मीलाई भन्ने गरेको छु ।

''मम्मीलाई घरमा कामको चिन्ता छ, सबै जनाले खेत जोतेर खेत रोप्ने तयारी छन्, मम्मीले भनिन् ‘ हाम्रो खेत समेत जोत्न बाकी छ, म एक्लै कसरी काम गरु ?”

गाउँघरमा काम चटारो भएका बेला बुवा,अंकल भारत मै रोकिएका छन् भने म धनगढी मै रोकिएको छु । यो खेतीपाती लगाउने समयमा खेत नरोपेर बस्ने हो भने फेरी अर्को समस्या भोकमरी हुने सम्भावना छ । घरमा आन्टी र मम्मी अहिले छिमेकी सँग मिलेर पालोपैचो गरेर जसोतसो खेतीपातीको काम गर्दै छन् । मम्मी र आन्टीलाई घरमा कामको समस्या छ भने भारतमा लकडाउनले गर्दा घर आउन नपाएका बुवा र अंकलहरुलाई कोरोना भाइरसले कति बेला आक्रमण गर्छ भन्ने चिन्तामा छन् ।

अनि यहाँ मलाई भारतमा रहेका परिवारलाई कति बेला के हुन्छ भन्ने चिन्ताले सताई रहेको छ । भारतमा रहेका लाखौँ नेपाली अहिले उद्धारको पर्खाइमा छन् । त कतिपय भने नेपाल आईसकेका छन । नेपाल सरकारले भारतमा रहेका नेपालीहरूको उद्धारमा कुनै चासो समेत दिएको छैन ।

त्यसैले भारतमा रहेका मेरो घर परिवार सहित अन्य नेपालीहरूले सुरक्षित बस्ने बाहेक अन्य कुनै विकल्प छैन । भारतमा रहेका जति पनि सुदूरपश्चिमेली सहित अन्य नेपालीहरू समस्यामा छन् उनीहरूको उद्धारमा प्रदेश सरकार र सङ्घीय सरकारले समेत कुनै चासो देखाएका छैनन् ।

त्यस कारण प्रदेश सरकार र सङ्घीय सरकारले आफ्ना नागरिकको जीवन रक्षाका लागी ठोस कदम चाल्न आवश्यक देखिन्छ ।