नागरिकलाई स्वदेश आउन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् : भीम रावल

नागरिकलाई स्वदेश आउन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस्  : भीम रावल

भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन् । ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग उनले गरेका छन् । 

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको बनबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ हुँदा पनि सरकारले आउन नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

'आफ्नै नागरिकलाई स्वदेश फर्किन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् । सीमामा बसेकाहरूलाई कोरोना छैन तैपनि सीमामा रहेका नेपालीलाई के कारणले रोकियो ? यो अत्याचार अन्त्य गरियोस्,' उनले थपे, 'उहाँहरूलाई त्यत्तिकै ल्याइयोस् भनिएको होइन । स्वास्थ्य परीक्षण गरेर समबन्धित पालिकामा कति दिन बस्नुपर्ने हो त्यो पूरा गर्नेगरी ल्याइयोस् ।'

एकातिर सीमामा लामो समय बस्दा उनीहरूलाई थप समस्या हुने र अर्कोतिर उनीहरूको परिवारमा चिन्ता थपिने रावलको भनाइ थियो । बाली भित्र्याउने र नयाँ बाली छर्ने बेलामा उनीहरूलाई सीमामा अड्काएर राख्दा कृषिमा पनि प्रभाव पर्ने उनको भनाइ थियो ।

'कतिपय देशले आफ्ना नागरिकलाई विमान पठाएर आफ्नो देश लगिरहेको छ । हामी ४५ दिन सीमामा अलपत्र परेका नेपालीलाई ल्‍याउन नसक्ने ?,' उनले थपे ।

अहिलेको अवस्थामा भारत-नेपालबीचको सीमा अन्तर्राष्ट्रिय मान्यताअनुसार नियमन गर्नुपर्ने पनि रावलको भनाइ थियो । साथै, भारतीयलाई नेपाल प्रवेश रोक लगाउनुपर्ने उनले बताए । कान्तिपुर दैनिक बाट