लकडाउन खुकुलो नभइ अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

लकडाउन खुकुलो नभइ अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मानिसको जीवन जोगिए मात्रै अर्थतन्त्र बचाउनेतर्फ सोच्न सकिने पनि बताएका छन् ।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो बनाउन नहुनेमा प्रधानमन्त्रीले जोड दिएका हुन् ।

सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ वटा उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै, काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय एक तिहाई कर्मचारीलाई पनि कार्यालय काममा बोलाउन निर्देशन दिइएको छ ।

जसका कारण पछिल्लो समय साँझ र बिहानको समयमा काठमाडौंका सडकमा सवारी जाम हुन थालेको छ । प्रधानमन्त्री ओलीले भने लकडाउनका बेला ट्राफिक जाम भएकोप्रति असन्तुष्टि जनाउँदै लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएका हुन् ।

लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा कोरोना भाइरसका संक्रमितहरु पनि थपिँदै गएका छन् । नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।

यसबीचमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार मात्रै कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थपिएका छन् ।