लिपुलेक सुरक्षाकाे लागि आज हेलिकप्टरमार्फत सशस्त्र प्रहरी जाँदै

लिपुलेक सुरक्षाकाे लागि आज हेलिकप्टरमार्फत सशस्त्र प्रहरी जाँदै

धनगढी : लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज (बुधबार) नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली जाँदै छ ।

गृह मन्त्रालयका अनुसार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार सशस्त्र प्रहरीको फौज पठाउन लिखितरुपमा निर्देशन दिइसकेको जानकारी दिनुभयाे । उहाँका अनुसार दोलीलाई सेनाको हेलिकप्टरले छाङरु पुर्‍याउने छ ।

चार दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ । मंगलबार नै टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उहाँले बताउनुभयाे । स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने छ । उक्त गाउँमा १०५ घरधुरी रहेको छ ।

सरकारले गत मंसिरमा नै यहाँ विओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ विओपी थियो । मंसिरमा सरकारले ११४ विओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसपछि जम्मा १३ स्थानमा मात्रै विओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।