काठमाडौं र भक्तपुरमा ३ जनामा कोरोना भाइरसको संक्रमण, देशभर संख्या २१७ पुग्यो

काठमाडौं र भक्तपुरमा ३ जनामा कोरोना भाइरसको संक्रमण, देशभर संख्या २१७ पुग्यो

नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २ सय १७ पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएकामध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।