सुदुरपश्चिम फाउन्डेसनद्धारा पुर्ण अशक्त युवतीलाई खाद्यान्न सहयोग

सुदुरपश्चिम फाउन्डेसनद्धारा पुर्ण अशक्त युवतीलाई खाद्यान्न सहयोग

धनगढी : रुखबाट लडेर ढाड भाँचिदा पूर्ण रुपमा अशक्त भएकी एक युवतीलाई खाद्यान्नलगायत सामग्री सहयोग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारी काठमाडौँ निवासी सिञ्जा रावत, सुदूरपश्चिम फाउण्डेसन र नेपाल पारा ओलम्पीक कमिटी सुदूरपश्चिमको आर्थिक सहयोगमा फुलबारी घर भएकी २२ वर्षीया टीकाकुमारी पुरीलाई चामल, तेल, नुनलगायत खाद्य सामग्री सहयोग गरिएको हो ।

एक क्वीन्टल चामल, १० किलो दाल, ३० प्याकेट नुन, २० प्याकेट तेल, नुहाउने र लुगा धुने साबुन २०-२० प्याकेट तथा ४० प्याकेट कपडा धुने सोडा सहयोग गरिएको सुदूरपश्चिम फाउण्डेसनका अध्यक्ष भरत शाहले जानकारी दिए । अहिले गौरीगंगा नगरपालिकाको मंगलपुरस्थित आफ्ना काकाको घरमा बस्दै आएकी उनलाई बिहीबार त्यही गएर सामग्री हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।

लकडाउनले समस्या भएका बेला प्राप्त खाद्यान्नले केही राहत पुग्ने उनले बताइन् । शारीरिक रुपमा पूर्ण अशक्त पुरीलाई यसअघि पनि दिसापिसाबमा सहयोग पुग्ने तथा व्यक्तिगत सरसफाइमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल पाराओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वाँरले बताए ।

२०७४ बैशाखमा घाँस काट्ने क्रममा रुखबाट लडेर उनको ढाड भाँचिएको थियो । उनकी आमा, बुवा भारतमा मजदुरी गर्छन । ‘बैशाखमा मेरो घटना भयो, त्यही असोजमा गोरुले हानेर आमा बित्नु भो ।’ टीकाले भनिन्, ‘भएको जग्गाजमिन उपचारमा सकियो, मेरै लागि ७० वर्षको बुवा भारतमा मजदुरी गर्दै हुनुहुन्छ ।’

परिवारमा अरु कोही नभएपछि काकाको घरमा आश्रय लिएर बसिरहेको उनले बताइन् । कम्मरको नशा भाँचिएकाले उनको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनी ह्वील चियरको सहारामा हिँड्डुल गर्छिन् । ‘हातले काम गर्नसक्छु, बसेर हातले गर्ने काम गर्ने काम पाइए आत्मनिर्भर बन्न सक्थेँ ।’ उनले भनिन् ।