नेपालमा अहिलेसम्म २२ हजार ६६४ जनामा पीसीआर विधिबाट परीक्षण, आइसोलेसनमा २७२ जना

नेपालमा अहिलेसम्म २२ हजार ६६४ जनामा पीसीआर विधिबाट परीक्षण, आइसोलेसनमा २७२ जना

हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको थियो । 

यस्तै हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो । यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६००  जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ।

 यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए । 

यस्तै आज तीन जनामा कोरोना पुष्टि भएको र योसँगै संक्रमितको संख्या २४६ पुगेको पनि उनले बताए । यस्तै ३५ जना निको भएर घर फर्किएका छन् ।