सुत्केरी लिन हिँडेको एम्बुलेन्स दुर्घटना, चालक बेपत्ता

सुत्केरी लिन हिँडेको एम्बुलेन्स दुर्घटना, चालक बेपत्ता

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको लेतेबाट म्याग्दी सदरमुकाम बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरीस्थित रिठाबोटनिर आइतबार दिउँसो ग १ झ ३११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेर चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी एम्बुलेन्सका चालक थासाङ गाउँपालिका–४, का २५ वर्षीय सोजन विकसहित एम्बुलेन्स बेपत्ता भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभयो । दुर्घटनामा परेको एम्बुलेन्स सुत्केरी महिला लिनका लागि बेनी अस्पतालसम्म प्राथमिक स्वास्थ्य केन्द्र लेतेबाट हिँडेको उहाँले बताउनुभयो ।

एम्बुलेन्समा चालकबाहेक अन्य कोही पनि नगएको प्राथमिक स्वास्थ्य केन्द्र लेतेले जानकारी दिएको प्रजिअ अर्यालको भनाइ छ । दुर्घटनामा परेर बेपत्ता चालक र एम्बुलेन्सको खोजीकार्य सुरु गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा खसेर बेपत्ता एम्बुलेन्सको केही अवशेष भेटिए पनि एम्बुलेन्स र चालकको अवस्था भने पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।

दुर्घटनास्थलमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रनाउ कुँबरसहित सशस्त्र र नेपाल प्रहरीको टोली रहेको छ । तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण भने आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।