कञ्चनपुरको गड्डाचौकीमा ४२ जना भारतीय मजदुर अलपत्र

कञ्चनपुरको गड्डाचौकीमा ४२ जना भारतीय मजदुर अलपत्र

कञ्चनपुर : नेपालबाट घर हिँडेका भारतीय मजदुर पश्चिमी सीमा नाका गड्डाचौकीमा अलपत्र परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा प्रवेशको अनुमति नदिएपछि ४२ जना मजदुर सीमा क्षेत्रमा अलपत्र परेका हुन्।

कञ्चनपुरका इँटा भट्टा र सःमिलहरुमा काम गर्दै आएका भारतीय नागरिकहरु सीमा क्षेत्रमा पुगे पनि प्रवेश नदिईएपछि भोक भोकै बस्न बाध्य भएका छन्। काम गर्दै आएका इँटा भट्टा र सःमिल लकडाउनका कारण बन्द भएपछि धेरै दिन कोठामै बसेर दिन बिताएका उनीहरुले खाद्यान्नका लागि समेत रकम अपुग भएपछि घर हिँडेको बताएका छन्।

उनीहरुमध्ये कोही साइकल र कोही पैदल सीमा क्षेत्रमा पुगेका हुन्। सीमा क्षेत्रमा पुगेर अलपत्र परेका मजदुरहरु भारतको पिलिभित र वरेलीलगायत क्षेत्रका रहेका हुन्। उनीहरुले घर जान दिनु पर्ने माग राखेका छन ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अलपत्र मजदुरहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिने बताए। भारतीय मजदुरहरुले काम गर्दै आएका स्थानिय तहसँग समेत समन्वयको कार्य भइरहेको उनको भनाइ छ।