लकडाउनका कारण ६० लाखभन्दा बढी नेपाली बेरोजगार

लकडाउनका कारण ६० लाखभन्दा बढी नेपाली बेरोजगार

काठमाडौं।  कोरोना भाइरसको संक्रमणबाट जोगनि सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनले ६० लाखभन्दा बढी नेपाली बेरोजगार बनेका छन ।

श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार लकडाउनमा ६० लाख ८१ हजारभन्दा बढीको रोजगारी गुमेको उल्लेख छ।

 तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन्। त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका हुन।

वन तथा जडिबुटी क्षेत्रमा झण्डै ५० लाख कार्यरत रहेकामा २९ लाखभन्दा बढीले रोजगारी गुमाएको आयोगले जनाएको छ ।

पर्यटन क्षेत्रमा ८ लाख ३० हजार मानिसले काम गर्दै आएकोमा ८ लाख मानिस बेरोजगार बनेका हुन ।

स्थानीय स्तरका आयोजनामा काम गर्ने २६ लाखमध्ये १७ लाख बेरोजगार बनेका छन्।

पुनर्निमाण क्षेत्रमा कार्यरत ६ लाखमध्ये ३ लाख बेरोजगार बनेका छन् भने सूचना प्रविधि, आमसञ्चार तथा चलचित्र क्षेत्रमा काम गर्नेमध्ये १ लाख बेरोजगार बनेका हुन ।

यद्यपि यो रोजगारी अस्थायीरूपमा मात्र गुमेको सरकारी आकलन छ । सामान्य अवस्था आए धेरैजसो पूर्ववत अवस्थामा फर्कने र स्थायीरुपमा नै रोजगारी गुमेकाको हकमा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको समेत बताइएको छ ।