लगातार तीन दिन मौसम खराब रहने पुर्वानुमान, सचेत रहन अनुरोध

लगातार तीन दिन मौसम खराब रहने पुर्वानुमान, सचेत रहन अनुरोध

काठमाडौ । बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण आज (बुधबार) देखि तीन दिन अर्थात् (शुक्रबार) सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखााका मौसमविद् वरुण पौडेलका अनुसार यसले विशेषगरी पूर्वी क्षेत्रमा बढी प्रभाव पारिरहेकाे छ। साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेकाे छ।

‘विशेषगरी पूर्वी क्षेत्रमा आज गड्याङगुडुङ, चट्याङ र हुरीबतासहित मध्यमसम्म वर्षा हुने सम्भवना छ,’ मौसमविद् पौडेलले भने, ‘काठमाडौंलगायत मध्य क्षेत्रमा पनि मौसम बदली तथा वर्षा हुने देखिएको छ।’

पौडेलका अनुसार सुदुरपश्चिम प्रदेशमा भने यसको प्रभाव नपर्ने अनुमान गरिएको छ ।