संक्रमितको संख्यामा विश्‍वमै दोस्रो स्थानमा पुग्दै ब्राजिल

संक्रमितको संख्यामा विश्‍वमै दोस्रो स्थानमा पुग्दै ब्राजिल

दक्षिण अमेरिकी मुलुक ब्राजिल संक्रमितको संख्याका आधारमा विश्‍वकै दोस्रो स्थानमा चढ्ने क्रममा छ।हिजो ब्राजिलमा एकै दिन २० हजार जनामा संक्रमण पाइयो भने आठ सय ८८ जनाले ज्यान गुमाए।

यससँगै संक्रमित संख्या दुई लाख ९३ हजार नाघेको छ भने १८ हजार आठ सय ९४ जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्याका आधारमा ब्राजिलले गत सोमबार नै बेलायतलाई पछाडि पारेको थियो। र, मंगलबार एकै दिन एक हजार एक सय ७९ जनाको ज्यान गएको रेकर्ड बनाएको थियो।

गलत ढंगबाट महामारीलाई ‘ह्यान्डल’ गरेको बताउँदै राष्‍ट्रपति जायर बोल्सोनारोको आलोचना भइरहेको छ। सेनाका पूर्वक्याप्टेन तथा दक्षिणपन्थी विचारधारामा बोल्सोनारो यसबीचमा अर्थव्यवस्थालाई सञ्चालनमा ल्याउनेबारेमा तर्क-बितर्कमा उत्रिएका थिए।

स्वास्थ्य विज्ञहरूको चेतावनीका बावजुद उनले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्‍वाइनलाई कोभिड-१९ का बिरामीका लागि पनि प्रयोग ल्याउने पक्षमा वकालत गर्दै आएका छन्। हिजो मात्र स्वास्थ्य मन्त्रालयले हाइड्रोक्सिक्लोरोक्‍वाइनको व्यापक प्रयोग गर्न गाइडलाइन सार्वजनिक गरेको थियो।