के बदलिँदैछ कोरोना भाइरस ?

के बदलिँदैछ कोरोना भाइरस ?

चीनको पूर्वोत्तर क्षेत्रमा कोभिड-१९ का बिरामीमा वुहान शहरका बिरामीमा भन्दा अलग लक्षण देखिएको छ। र, उनीहरूलाई वुहानका बिरामीलाई भन्दा बढी समय उपचार गर्नुपरिरहेको छ।

चीनको नेशनल हेल्थ कमिसनको शीर्ष मेडिकल टीमका सदस्य तथा प्रतिष्‍ठित चिकित्सक किउ हाइबोका अनुसार हेइलङजियाङ र जिलिन प्रान्तका बिरामीमा सामान्यभन्दा अलग लक्षण देखिएको छ। र, अन्य प्रान्तका बिरामीलाई भन्दा बढी समय अस्पतालमा राख्नु परिरहेको छ।

दुवै प्रान्तका नयाँ बिरामीमा ज्वरो थिएन। तर, थकान अनुभूति गर्थे र  खोकीको समस्या थियो। केही बिरामीमा त कुनै लक्षण थिएन। “यसबीचमा जति पनि नयाँ रोगी आए, उनीहरूमा भाइरस बढी समयसम्म जीवित रह्यो,” डा। किउले सीसीटीभी-१३ सँग भने।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सको एक रिपोर्टअनुसार वुहानका बिरामीको जाँच रिपोर्ट लक्षण देखिएको बढीमा दुई सातामा नेगेटिभ आउने गर्थ्यो।

पछिल्लो समयमा बिरामी संख्या त घट्दो क्रममा छ। तर, नयाँ बिरामीमा लामो समय भाइरसको प्रभाव देखिने गरेको छ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार जिलिन प्रान्तमा २५ जना नयाँ बिरामी उपचाररत छन्। हेइलङजियाङ प्रान्तमा भने हालसम्मका सबै बिरामी उपचारपछि घर फिरेका छन्।