टीकापुरको खेतमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो

टीकापुरको खेतमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बस्तीभन्दा टाढा बाँझो खेतमा युवकको शव भेटिएको छ ।

मृतक युवकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिनुभयो । प्रहरीका अनुसार मृतक करिव २०÷२२ वर्षका देखिन्छन्।

डिएसपी सिहले बाँझो खेतमा अर्धनग्न अवस्थामा युवकको शव भेटिएको बताउनुभयो ।

मृतक युवकको शरीरको अधिकांश भाग नग्न अवस्थामा छ । उनले दाहिने हातमा प्लाष्टिकको बाला, घाँटीमा माला, दाहिने कानमा कालो रंगको टप र बायाँ हातमा चाँदीको बाला लगाएका छन ।

मृतकको बाह्य शरीरमा कुनै किसिमको चोटपटक नभेटिएको प्रहरीले जानकारी दिएको छ । उनको नाकबाट रगत बगेको देखिन्छ । घटनास्थल भन्दा करिव १ सय मिटर टाढा मात्रै बस्ती रहेको छ ।

प्रहरीले शव टीकापुर अस्पतालको शवगृहमा राखेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको डिएसपी सिँहले बताउनुभयो ।

उहाँले सनाखत हुन नसकेका कारण अनुसन्धानमा समस्या भइरहेको बताउनुभयो ।