बैतडीको सीमानाका झुलाघाटबाट शुक्रबार किरियापुत्रीसहित ३७८ जनाको उद्धार

बैतडीको सीमानाका झुलाघाटबाट शुक्रबार किरियापुत्रीसहित ३७८ जनाको उद्धार

बैतडी : बैतडीको सीमानाका झुलाघाटबाट शुक्रबार किरियापुत्रीसहित ३७८ जनाको  उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका ६ जनासहित १२ जिल्लाका नागरिक रहेका छन्। उनीहरुलाई सीमा नाकामा समान्य चेकजाँच मात्र गरिएको छ।

सीमा नाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। यसअघि गत वैशाख १८ मा पनि झुलाघाट नाकाबाट नेपालीहरुको उद्धार गरिएको थियो।

यसैबीच झुलाघाटबाट ११ जना भारतीय पनि आफ्नो देश फर्केका छन्। नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आ-आफ्ना देशमा आवतजावत गर्न दिइएको हो।

भारतीय क्वारेन्टाइनमा १० दिनदेखि किरिया गरिरहेका चारजना शुक्रबार मात्रै स्वदेश फर्कन पाएका छन्। उनीहरुमध्ये दुईजना आफ्ना बुवा गुमाएका, एकजना आमा  र एकजना श्रीमती गुमाएका रहेका छन्।