बैतडीमा तीन हजार शय्याको क्‍वारेन्टाइन बनाइने

बैतडीमा तीन हजार शय्याको क्‍वारेन्टाइन बनाइने

बैतडी : भारतमा रहेका जिल्लाका नागरिकहरू फर्किन इच्छुक रहेकाले आइसोलेसन र क्‍वारेन्टिनको संख्या थपिने भएको छ।

भारतमा रहेका जिल्लावासीको पालिकास्तरीय तथ्यांक संकलन गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

जिल्लामा हाल एक हजार नौ सय पाँच शय्याका क्‍वारेन्टाइन र ३२ आइसोलेसन कक्ष छन्। एक स्थानीय तहमा कम्तीमा पाँच शय्याको आइसोलेसन र जिल्लाभरी कम्तीमा क्‍वारेन्टाइन संख्या तीन हजार पुर्‍याइने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले खटाएका तीन चिकित्सकको समयावधि सकिएर फर्किसकेकाले अन्य चिकित्सक पठाइदिन अनुरोध गरिएको उनले बताए।

हाल देखिएका कोरोना संक्रमितलाई सीसीक्यामेराको प्रत्यक्ष निगरानीमा राखिएको छ। शिवनाथ गाउँपालिका-२ का २२ वर्षीय ती युवकलाई हिजो कोभिड-१९ पोजिटिभ पुष्टि भएको थियो। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनी प्रहरी कार्यालयको हिरासतमा थिए।

जिल्ला अस्पताल बैतडीको आइसोलेसन कक्षमा हाल तीनजना भर्ना भएका छन्। संत्रलमित युवक, उनकी १९ वर्षीया बहिनी र दोगडाकेदार गाउँपालिका-१ का २५ वर्षीय युवकलाई आइसोलेसनमा भर्ना गरिएको हो। 

यस्तै, बाजुराको त्रिवेणी नगरपालिकाले थप ६ सय शय्याको क्‍वारेन्टाइन बनाउने भएको छ। यसअघि तीन सय शय्याको क्‍वारेन्टाइन रहेकामा थप तीन सय शय्या निर्माण गर्न लागिएको हो। 

भारतले नाका खुकुलो बनाउन थालेपछि नगरपालिकाले भारत र नेपालकै विभिन्न शहरबाट आउनेहरूका लागि छुट्टाछुट्टै क्‍वारेन्टाइन निर्माण गर्न लागेको हो।