कञ्चनपुरमा अवैध प्रवेश रोक्न महाकालीको झोलुंगे पुलमा ताला लगाइयो

कञ्चनपुरमा अवैध प्रवेश रोक्न महाकालीको झोलुंगे पुलमा ताला लगाइयो

कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीमाथिको मल्टीस्पान झोलुंगे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोडने झोलुङे पुल प्रवेश मार्गमा स्थानीय बासिन्दाले ताला लगाएर बन्द गरेका हुन्।

खुला सीमानाको फाइदा उठाउँदै भारतबाट फर्कनेहरु भित्रिन थालेपछि कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै स्थानीय बासिन्दाले पुलको आवतजावत रोकेका छन् । भारतीय सीमावर्ती बजार खटिमा, वनबासा लगायतबाट रातको समयको मौका छोप्दै भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्न गएका नेपालीहरु लुकिछिपि सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अपनाउनु पर्ने सावधानीहरु नअपनाइदा निकै जोखिम बढेकाले पुल बन्द गर्नुपरेको स्थानीय कृष्ण साउदले बताए। सीमा नाकामा अवैध रुपमा प्रवेश गर्नेहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ।

भारतबाट आउनेहरुलाई पुल भएरनै जाने व्यवस्था गरिएको छ। पुल सेनेटाइज नगर्दा जोखिम बढेकाले पूर्व सावधानीका कार्य नगरिदासम्म पुलमा आवतजावतको कार्य रोक्नु परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ।  

स्थानीय बासिन्दाले अवैध रुपमा दशगजा क्षेत्र भएर आउने व्यक्तिहरुलाई वैधानिक गड्डाचौकीको नाका भएर प्रवेश गराउनुपर्ने स्थानीयको माग छ। भारतमा रेल सेवा बहाल गरिएपछि घर फर्कने नेपालीहरूको सीमा क्षेत्रमा घुइँचो लागेको छ।

आठ सय बढी व्यक्तिहरूलाई दशगजा क्षेत्रबाट उद्धार गरी सम्बन्धित जिल्लाका स्थानिय तहका क्वारेन्टिनमा पठाईएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। शनिबार मात्रै सीमा क्षेत्रमा रोकेर राखिएका चार सय बढी व्यक्तिको उद्धार गरी घर पठाइएको छ।