सेनिटाइज गर्ने सहमतिपछि महाकालीको झोलुंगे पुलमा लगाइएको ताला खुल्यो

सेनिटाइज गर्ने सहमतिपछि महाकालीको झोलुंगे पुलमा लगाइएको ताला खुल्यो

कञ्चनपुर : कञ्चनपुरको दोधारा–चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङगे पुलमा लगाइएको ताला खोलिएको छ। स्थानिय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा सेनिटाइज गर्ने सहमतिपछि ताला खुलाइएको हो।  

पुललगायत क्षेत्रमा दैनिक बिहान सेनिटाइज गर्ने सहमति भएको वडाध्यक्ष लालबहादुर शाहीले बताए। भारतबाट फर्कनेहरु भित्रिन थालेपछि नगरपालिका १३ का बासिन्दाले पुलमा ताला लगाएका थिए। पुलमा सेनिटाइजेसन कार्य आजैदेखि सुरु गरिएको छ।  

भारतीय सीमावर्ती बजार खटिमा तथा वनवसालगायत क्षेत्रबाट रातको समयमा नेपालीहरु लुकिछिपी प्रवेश गर्ने क्रम बढेपछि स्थानीयले ताला लगाएका थिए । सीमा नाकाबाट अवैध रुपमा प्रवेश गर्नेलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ।  

भारतबाट आउनेहरुलाई पुल भएरै जाने व्यवस्था गरिएको छ। हालसम्म आठ सय बढी व्यक्तिलाई दशगजा क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित जिल्लाका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा पठाएको छ।