कञ्चनपुरको गड्डाचौकी नाकामा अलपत्र नेपालीको आजबाट उद्धार हुने

कञ्चनपुरको गड्डाचौकी नाकामा अलपत्र नेपालीको आजबाट उद्धार हुने

कञ्चनपुर : कञ्चनपुरको स्थानीय प्रशासनले आजदेखि गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।

आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो ।

यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए ।

नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता कञ्चनपुरको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन ।

बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापन लगायतका काममा खटिने तयारी प्रशासनले गरेको जनाएको छ ।

भारतमा रेल सुचारू भएसँगै नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।