भक्त विवि हेल्पीङ हेण्डस फर ह्युमानिटी द्धारा धनगढीमा सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना

भक्त विवि हेल्पीङ हेण्डस फर ह्युमानिटी द्धारा धनगढीमा सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना

धनगढी ।  धनगढीको बोराडाडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा  ५१ बेड क्षमताको क्वारेन्टाईन स्थापना गरिएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ सँगको सहाकार्यमा भक्त विवि हेल्पीङ हेण्डस फर ह्युमानिटी, अमेरिकाको व्यवस्थापनमा ५१ बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको हो।

सुविधा सम्पन्न क्वारेन्टाईनमा भारतबाट फर्केर राखिने व्यक्तिको खाना, बस्ने लगायतमा आवश्यक पर्ने सबै व्यवस्थापन हेल्पी हेण्डस फर ह्युमानिटीले गरिरहेको संस्थाका सुदूरपश्चिम सल्लाहकार राजबहादुर चन्दले जानकारी दिनुभयो ।

चन्दले कोरोना प्रभावित भारतका विभिन्न क्षेत्रबाट फर्किएकाहरुका लागि खानाको उचित प्रबन्ध मिलाउनका साथै अन्य आवश्यक सामाग्रीको समेत संस्थाले व्यवस्थापन गरेको बताउनुभयो । संस्थाले अमेरिका तथा नेपालमा पनि विभिन्न सामाजिक कार्य गरिरहेको छ । 

वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले अहिले भारतबाट फर्किएका ७ जनालाई क्वारेन्टाईनमा राखिएको बताउँदै सीमानाका पुगेका वडाबासीको उद्दार गरी त्रिभुवन मावीमा व्यवस्थित ढंगले राखिने गरि कार्य भइरहेको बताउनु   भएको छ ।

उहाँले क्वारेन्टाईनमा बस्दा संक्रमणको जोखिम नहोस भनेर सामाजिक दुरी कायम गरेर राखिएको जनाउनुभयो । क्वारेन्टाईनलाई प्रभावकारी रुपमा संचालनका लागी वडा कार्यालय र सम्पुर्ण जनप्रतिनिधिले काम गरिरहेको अध्यक्ष ऐरको भनाइ छ । 

यस्तै क्वारेन्टाईनमा बस्नेहरुको मनोरञ्जनका लागि इनटरनेट सुविधा समेत उपलब्ध गराईने तयारीमा आफूहरु रहेको वडा सदस्य ओम चन्दले जानकारी दिनुभयो । वडा नम्बर ३ का सदस्य चन्दले हेल्पीङ हेण्डस फर ह्युमानिटीले क्वारेन्टाईनमा बस्नेहरुका लागि खाना, बस्न, ओढ्ने विछाउने, सेनीटाईजर, मास्क, साबुन, कोलगेट लगायतका सबै सामाग्री सहयोग गरेको बताउदै विपतको समयमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो।