सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने

Dhangadhi Khabar    

सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुनेछन् । सरकारले सीमा नाकामा थप कडाइ गर्ने भएको छ । सीमाबाट जथाभाबी नागरिक आउँदा कोरोनाको जोखिम झनै बढेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य जाँच गरेर मात्रै नेपाल भित्रन दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

सीमा क्षेत्रबाट अवैध रुपमा आवत जावत भइरहेकाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या थप्ने र नेपाल प्रहरीलाई पनि परिचालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोरोनाको प्रभाव बढी देखिएका ठाउँमा लकडाउन थप कडाइ गर्ने र सुरक्षा निकाय परिचालनको जिम्मा गृह मन्त्रालयलाई दिइएको पनि उहाँले बताउनुभयो ।

तर लकडाउनको मोडालिटीको बारेमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गृहकार्य गरेर टुङ्गो लगाउने मन्त्री खतिवडाले जानकारी दिनुभयो । 

शनिबार नै बसेको सुरक्षा परिषद्को बैठकले पनि कोरोना रोकथामको लागि सुुरक्षाकर्मीको उपस्थिति थप बलियो बनाउने निधो गरेको उहाँले जानकारी दिनुभयो ।



आइतबार १८, जेठ २०७७ ०८:१८ मा प्रकाशित

#अन्तर्राष्ट्रिय #सीमा #लकडाउन #हवाई
Loading...

प्रतिकृया दिनुहोस