पुरातत्व विभागद्वारा बझाङका दरबारको अध्ययन

पुरातत्व विभागद्वारा बझाङका दरबारको अध्ययन

बझाङ : पुरातत्व विभागको एक टोलीले तत्कालीन बझाङ्गी राजाहरुले बनाएका दरबारहरुको अध्ययन गरेको छ ।

टोलीले हाल अस्तिवमा रहेका र भग्नावशेषमा परिणत भइसकेका पुरातात्विक महत्वका दरबारहरुको अध्ययन गरेको हो ।

टोलीले मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले निर्माण गरेको अनुमान गरिएको छविस पाथिभेरा गाउँपालिकाको मेल्लेकस्थित जयपृथ्वी नगर दरबारको भग्नावशेष, छविसपाथिभेरा गाउँपालिकामै रहेको ब्याँसीकोट दरबार, जयपृथ्वी नगरपालिकामा रहेको हातिसार दरबार र भोपुर दरबारको अध्ययन गरको हो ।

पुरातत्व अधिकृत प्रकाश खड्का र आर्किटेक्ट इन्जिनियर श्रद्धा अधिकारीको टोलीले दरबारहरुको ऐतिहासिक र पुरातात्विक महत्वको बारेमा अध्ययन गरेको थियो ।

पुरातात्विक र ऐतिहासिक महत्वका हिसाबले बझाङमा रहेका सबै दरबारहरु महत्वपूर्ण रहेको तर संरक्षणका दृष्टिले निकै नै लापरबाही देखिएको टोलीका सदस्य एवं पुरातत्व अधिकृत प्रकाश खड्काले बताउनुभयो ।

उहाले दरबारको संरक्षण र प्रचार प्रसार गर्न सके पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो । अध्ययनका क्रममा छविस पाथिभेरा गाउँपालिकाको मेल्लेक स्थित जयपृथ्वी नगर दरबारको भग्नावशेस ऐतिहासिकताका हिसाबले महत्वपूर्ण रहेको र यसको पुर्न्निर्माणका लागि विभागले दरबारको नक्सा र लागत स्टिमेट तयार गर्ने आर्किटेक्ट इन्जिनियर श्रद्धा अधिकारी बताउनुभयो ।

छविस पाथिभेरा गाउँपालिकाको वडा नं २ मेल्लेक भन्ने ठाउँमा रहेको उक्त दरबारको भग्नावशेषमा पुरात्वविक र ऐतिहासिक महत्वका सामाग्री भेटिन सक्ने अनुमान रहेकाले दरबारको भग्नावशेषलाई तारबार गरेर सुरक्षित राख्नुपर्ने टोलीको सुझाव छ ।

बझाङ जिल्लाको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पूर्वाधारको विकासमा निकै ठुलो योगदान दिएका राजा जयपृथ्वीबहादुर सिंहले यहाका दरबारबाट ६ वर्ष जति शासन गरेको अनुमान छ ।

दरबारको उत्खनन् पछि जयपृथ्वीबहादुर सिंहको पालाका थुप्रै रहस्यहरु पत्ता लाग्ने र जयपृथ्वीनगर पर्यटकीय नगरको रुपमा विकास हुने आशा स्थानीयमा छ ।