वडाध्यक्ष तरकारी उत्पादनमा : बिहान तरकारी गोडमेलमा, दिउँसो वडा कार्यालयमा

वडाध्यक्ष तरकारी उत्पादनमा : बिहान तरकारी गोडमेलमा, दिउँसो वडा कार्यालयमा

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको बिहानको समय तरकारी गोडमेल गर्नमा तथा साँझपख तरकारी बेच्न बजार जानमै बित्ने गर्दछ ।

घरमै तयार गरिएको कम्पोष्टमल डोकोमा बोकेर खेतबारीमा काम उहाँ एक्लैले गर्नुहुन्छ । दिउँको समय वडा कार्यालय पुगेर सेवाग्रहीलाई सेवा दिनुहुन्छ । 
 
विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि बुढाले जैविक विधि प्रयोग गरी तरकारी उत्पादन गर्दै आउनुभएको छ । “तरकारी बिक्री गर्न सहज छ,” बुढाले भन्नुभयो ।

उहाँको बारीमा तितेकरेला, काँक्रा, लौका, फर्सी, भिण्डी र गोलभेँडा छ । दुई महीनाको अवधिमै रु दुई लाख ५० हजारको तरकारी बिक्री गरेको उहाँले बताउनुभयो ।

“प्लाष्टिक घरमा तयार गरिएका काँक्राबाट रु ५० हजार, गोलभेडाबाट रु ५० हजार, तितेकरेलाबाट रु ६० हजार र अन्य तरकारी बिक्री गरी रु दुई लाख ५० हजार आम्दानी भयो,” बुढाले भन्नुभयो । बुढा २०४९ साल, २०५४ र २०७४ सालमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।