तपाइँलाई रुघाखोकी लागिरहन्छ ? के गर्ने ? यस्ता छन् उपाय

तपाइँलाई रुघाखोकी लागिरहन्छ ? के गर्ने ? यस्ता छन् उपाय

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

मौसममा आजभोलि आइरहेको परिवर्तनले स्वास्थ्यमा पनि विभिन्न खालका समस्या देखा पर्ने गरेका छन् ।

जसका कारण रुघा लाग्ने, ज्वरो आउने लगायतका समस्या सामान्य भएको छ । तर यसबाट बच्नका लागि केही सावधानी अपनाएको खण्डमा यस्ता रोग लाग्दैन । मौसमा आउने परिवर्तनका समयमा इन्फ्लुएन्जाका कीटाणु सक्रिय हुने भएकाले मानिसलाई विभिन्न समस्या देखिन थाल्छन् ।

संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्किने कीटाणुयुक्त पानीका कण हावाका माध्यमले वातावरणमा फैलिन्छ र श्वासप्रश्वासका माध्यमबाट अन्य मानिस संक्रमित हुने गर्छन् ।

मौसमी रुघाखोकीले खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई सताउने गर्छ ।

त्यसैले मौसम परिवर्तनको समय सकेसम्म बढी भिडभाड, हुलमूल हुने ठाउँमा नजाँदा राम्रो हुन्छ । घरमा पनि कुनै सदस्य यस्तो समस्याबाट ग्रसित भएको अवस्थामा सावधानी अपनाउनुपर्ने हुन्छ । जस्तो कि बिरामीको नजिक नबस्ने, बिरामीले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने आदि ।

घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्छ । बाहिरबाट घर फर्किएपछि साबुनपानीले राम्रोसँग हातगोडा सफा गरेर मात्र अन्य सामान छुनुपर्छ । यसरी साबुनपानीले राम्रोसँग हात धोएमा रोग लाग्ने सम्भावना ८० प्रतिशत कमी हुन्छ ।

कतिपय रोग अस्वस्थकर जीवनशैली र खानपानका कारण पनि लाग्ने गर्छ । त्यसैले जंकफुड, पानीपुरी, चटपटेलगायत खानेकुराको प्रयोग नगर्दा राम्रो ।

पानी तताएर मात्र पिउने बानीको विकास गर्नुपर्छ । अस्वस्थकर पानीका कारण थुप्रै प्रकारका रोग लाग्ने गर्छ ।

रुघाखोकीले यसको जोखिम समूहकालाई मात्र सताउँदैन । कुनै रोग नभएका पूर्ण स्वस्थ मानिसलाई पनि आक्रमण गर्न सक्छ । सामान्य रुघाखोकीलाई बेवास्ता गरेर उपचार नगराएमा इन्फ्लुएन्जाका कारण जटिल समस्या हुन सक्छ ।

यसकै कारण ज्यानै जान सक्छ । त्यसैले लामो समय ज्वरो र रुघा लागिरह्यो भने चिकित्सककहाँ पुग्नुपर्छ ।