दार्चुला : दार्चुला सदमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमा नाकाहरु ३ दिनका लागि बन्द गरिने भएको छ ।
भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।
धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नभेम्बर १८ (मङ्सिर २) गते का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।