सीमामा झडप भएपछि टिकटकसहित चिनियाँ एप्लिकेसन भारतमा प्रतिबन्ध गर्न माग

सीमामा झडप भएपछि टिकटकसहित चिनियाँ एप्लिकेसन भारतमा प्रतिबन्ध गर्न माग

भारतीय अनुसन्धान एजेन्सीहरुले चिनियाँ एप्लिकेसनहरु भारतमा प्रतिबन्ध हुनुपर्ने माग गरेका छन्।हालै अनुसन्धान एजेन्सीहरुले ५२ वटा मोबाइल एप्लिकेसनको नाम भारत सरकारलाई बुझाएका छन्।

ती एप्लिकेसनहरु चीनसँग सम्बन्धित भएको भन्दै एजेन्सीहरुले त्यसलाई भारतमा प्रतिबन्ध गर्नुपर्ने माग गरेको इन्डिया टुडेले जनाएको छ।

चर्चित एप्लिकेसन टिकटक, जुम, सेन्डर, सेयर इट, क्लीन मास्टर, यूसी ब्राउजरजस्ता एप्लिकेसन चीनसँग सम्बन्धित भएको र यसले सुरक्षा खतरा उत्पन्न गराउने एजेन्सीहरुको भनाइ छ।

भारतीय एजेन्सीहरुले सरकारलाई यी एप्लिकेसन बन्द गर्न नभए प्रयोगकर्तालाई यी एप्लिकेसन प्रयोगमा रोक लगाउन आग्रह गरेका छन्।

भारत र चीनबीच सीमा विवाद उत्कर्षमा आएका बेला भारतमा चिनियाँ एप्लिकेसन बन्द हुनुपर्ने आवाज उठ्न थालेको हो।

गत सोमबार राति लद्दाख नजिकको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।