एमसीसीलाई राष्‍ट्रघाती भन्‍नु दु:खद : पूर्वअर्थमन्त्री कार्की

एमसीसीलाई राष्‍ट्रघाती भन्‍नु दु:खद : पूर्वअर्थमन्त्री कार्की

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग (एमसीसी) परियोजनालाई राष्ट्रघाती भन्नु दुःखद भएको बताएका छन्। 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले एमसीसीका लागि एकै रातमा बन्द कोठाबाट नभइ धेरै सरकारले योगदान गरेको बताए। 

सम्झौतामा राष्ट्रिय हितमा आँच आउने एउटा शब्द पनि नभएको उल्लेख गर्दै कार्कीले भने, ‘‘एकैदिनमा एकै रातमा बन्द कोठाबाट आएको सम्झौता होइन्। यो ल्याउनका लागि धेरे सरकारहरुले योगदान गरेका छन्। बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोईराला, पुष्पकमल दाहालको समयमा गति लिएर शेरबहादुर देउवाको समयमा सम्झौता भएको हो ।

यतिको सरकारका प्रधानमन्त्रीहरु, सहभागी मन्त्रीहरु सबै राष्ट्रघाती हुन ? राष्ट्रघाती हुन भने यो यो कारणले राष्ट्रघाती हुन भन्नुपर्‍यो। होइन भने राष्ट्रको हितमा रहेको यो सम्झौतालाई राष्ट्रघाती सम्झौता भनेर समाजमा अन्यौलता सिर्जना गरी अन्तर्राष्ट्रियस्तरमा हाम्रो विश्वसनीयता र हाम्रो व्यक्तित्वमाथि प्रश्न उठिरहेको छ।’’

एमसीसीले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई अगाडी बढाउने उल्लेख गर्दै कार्कीले विद्युतको क्षेत्रमा यसले ठूलो 'गेम चेञ्जर' को भूमिका खेल्ने बताए। 

सम्झौता लागू भएपछि अमेरिकी सेना नेपाल आउँछ भन्ने भ्रम छरिएको भन्दै उनले दुःख व्यक्त गरे। सम्झौतामा कुनै सैनिक गतिविधि हुने, नेपालको संविधानभन्दा माथि हुने भन्ने कुरा उल्लेख नभएपनि भ्रमण सिर्जना गरिएको कार्कीको भनाइ छ। 

उनले एमसीसीलाई बहसको विषय बनाएर संसदमा छलफल गरी निष्कर्षमा पुर्‍याउन पनि सभामुखलाई आग्रह गरे।