कर्मचारी विवादले सेवा प्रभावित

कर्मचारी विवादले सेवा प्रभावित

धनगढी : पाउनुपर्ने सेवासुविधाको विषयलाई लिएर जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख र अन्य कर्मचारी बीच विवाद बढ्दै जाँदा कार्यालयको सेवा प्रभावित हुन थालेको छ ।

कार्यालयका हुलाकी र हल्कारा लगायतका कर्मचारीले नियमानुसार पाउनुपर्ने वर्षादी, छाता, जुत्तालगायत सामग्रीको सुविधा नपाएपछि बढेको विवादले बेलाबखत सेवा प्रभावित हुने गरेको सूचना अधिकारी दिनेश चौधरीले बताउनुभयो । 

“अन्य सबै जिल्लाका हुलाकी हल्कारालाई सम्बन्धित जिल्लाको हुलाक कार्यालयले छाता जुत्ता वर्षादीलगायत सुविधा दिइरहेको छ”, चौधरीले भन्नुभयो, “तर कैलाली जिल्ला हुलाक कार्यालयले बजेट कार्यक्रम आए पनि अघिल्लो आव ०७४÷७५ देखि यो सुविधा उपलब्ध नगराउँदा प्रमुख र अन्य कर्मचारीबीचको विवाद बढेको छ ।” 

कार्यालयप्रमुख मेनका श्रेष्ठले भने यो कार्यक्रममा छुट्याइएको रकम कार्यालयको मसलन्द सामान खरीदमा खर्च भएको बताउनुहुन्छ । बजेट कम भएकाले उहाँहरूलाई यो सुविधा उपलब्ध गराउन नसकिएको र सुविधा उपलब्ध गराउन थप बजेट माग गरिएको श्रेष्ठले बताउनुभयो ।  

विवादबीच कार्यालयप्रमुखले उपस्थिति बिना नै हाजिरी गरेर अमयार्दित काम गरेको भन्दै अन्य कर्मचारीले हालै हाजिरी रजिस्टर बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । जुत्ता वर्षादीलगायत सामग्री खरीद गरेर उपलब्ध गराउन निकास भइआउने बजेट आफूखुशी अन्यत्रै खर्च गरिएको गुनासो हल्कारा र हुलाकीको छ । 

आफूहरूले पाउनुपर्ने सुविधाबाट वञ्चित गराइएको भन्दै जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हल्कारा हुलाकीले उजुरी दिएका थिए । यो विषयमा प्रशासनले दुई पटक कार्यालयप्रमुख श्रेष्ठसँग स्पष्टीकरण सोधिसकेको जनाइएको छ । 

विवाद मिलाउने प्रयासस्वरुप जिल्ला प्रशासन कार्यालय कैलालीले हालै दुवै पक्षलाई झिकाएर छलफलसमेत गरेको थियो । छलफलका क्रममा कर्मचारीबीच हात हालाहालको स्थिति उत्पन्न भएपछि प्रशासनका कर्मचारीले रोक्नु परेको थियो ।

यो विषयमा प्रमुख श्रेष्ठसँग स्पष्टीकरण सोधेर सम्बन्धित कागजातको फायल आवश्यक कार्यार्थ हुलाक विभागमा पठाइएको प्रजिअ बाबुराम श्रेष्ठले बताउनुभयो ।

जिल्ला हुलाक कार्यालय कैलालीअन्तर्गत १३ इलाका र ३३ अतिरिक्त हुलाक कार्यालय छन् । यी कार्यालयमा हुलाकी, हल्कारा, पत्र वितरक, डाँक वाहक र हुलाक प्रतिनिधिसमेत १६८ कार्यरत छन् ।