आगामी आर्थिक वर्षकाे बजेटकाे तयारीमा कैलालीका स्थानिय तह

आगामी आर्थिक वर्षकाे बजेटकाे तयारीमा कैलालीका स्थानिय तह

धनगढी । संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ। 

असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा गाउँटोलमा भेला गरी प्राथमिकता आधारमा योजना छनोट गर्दै आए पनि यस वर्ष सीमित अगुवाहरुसँग छलफल गरी योजना छनोटका लागि सुझाव सङ्कलन शुरु गरेका छन्।  

भजनी नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सामाजिक अगुवासँग गरेको छलफलमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्ने सुझाव आएको छ। नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले विगतका अधुरा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै स्वास्थ्यमा बजेट केन्द्रित हुने बताए। “ सुझाव सङ्कलन गरिरहेका छाँै, त्यसैलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउछौँ”, नगरप्रमुख चौधरीले भने, “अहिलेको अवस्थामा गत वर्ष भन्दा बजेट केही घटेर बजेट आउला।”

कैलारी गाउँपालिकाले पनि बजेटको तयारी शुरु गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए। उनले विगतमा जस्तो होडबाजी नभएको बताउँदै वडास्तरदेखि गाउँपालिकाले योजनाको विषयमा छलफल गरिरहेको बताए। अघिल्लो वर्ष गाउँपालिकाले रु ५३ करोड बजेट विनियोजन गरेकामा आउँदो वर्ष ५० करोडसम्मको बजेट ल्याउने उनले बताए।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कार्यपालिकाको बैठक बस्न नसकेकाले बजेटका विषयमा छलफल शुरु नभएको बताए। चौधरीले भने, “स्वास्थ्यलाई बजेटको प्राथमिकतामा राख्छौ।” गाउँपालिकाले चालू आर्थिक वर्षलाई ६९ करोडको बजेट ल्याएको थियो। आउँदो वर्षमा केही बढ्न सक्ने बताइएको छ। लम्कीचुहा नगरपालिकाले बजेटका लागि सुझाव सङ्कलन थालेको छ। विभिन्न क्षेत्रका अगुवालाई  फरक समयमा बोलाएर सुझाव सङ्कलन भइरहेको नगरप्रमुख महादेव बजगाईँले बताए।

अनुदान बढेर आएकोले बजेट केही बढ्न सक्ने तर अहिलेको अवस्थामा के काम गर्ने भन्ने अन्योल छाएको बताए। नगरप्रमुख बजगाईँले भने, “क्वारेन्टिनमा मानिसलाई व्यवस्थापन गर्न निकै चुनौती छ, उता क्वारेन्टिन हेर्ने कि यता कार्यालय? गाह्रो भइरहेको छ।” टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले बजेटको आन्तरिक तयारी भइसकेको बताउँदै वडाका योजना छनोटका लागि नगरपालिकाले परिपत्र गरिसकेको बताए। उनले आगामी बजेट केही घट्ने सम्भावना रहेको र वडामा जाने बजेटमा कटौती गरिएको बताए।