सरकारले १२ हजार नेपालीमात्र उद्दार गर्ने

सरकारले १२ हजार नेपालीमात्र उद्दार गर्ने

सरकारले विभिन्न देशमा अप्ठेरो अवस्थामा रहेका करिव १२ हजार नेपाली नागरिकलाई मात्रै उद्दार गर्ने भएको छ । विभिन्न मुलुकमा समस्यामा परेका करिब २५ देखि ३० हजार नेपाली नागरिकलाई उद्दार गर्ने भने पनि पहिलो चरणमा १२ हजारलाई मात्रै उद्दार गर्ने भएको हो । 

आइतबार उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जुन ३० अर्थात असार १६ गतेसम्म करिब १२ हजार नेपाली ८० वटा चार्टर उडानमाफर्त स्वदेश आइपुग्ने जानकारी दिए ।

उनले हालसम्म करिब ४ हजार विदेशी नागरिक स्वदेश फिर्ता भइसकेको समेत जानकारी दिए । पर्यटन मन्त्रालयका सचिव अधिकारीले अगस्त महिनादेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी भइरेहको पनि बताए ।

उनले जुलाईको अन्त्यदेखि अगस्त महिनाको पहिलो सातासम्म ७० देखि ८० राष्ट्रले अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तालिका सार्वजनिक गरेको अवस्थामा नेपालले पनि सोही अनुसारको तयारी गरिरहेको बताउँदै पहिलो चरणमा संक्रमण कम भएका मुलुकबाट उडान सुचारु गर्ने गरी छलफल भइरहेको बताए ।

यद्यपि, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले बढी संक्रमण भएको मुलुकको सूचीमा राखे भने उडान हुने मिति अझै अनिश्चित हुने उनको भनाइ छ । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले कतिपय मुलुकले सामान्य परीक्षण पनि नगरी फिर्ता पठाउन चाहेका कारण समस्या भएको पनि बताए ।

उनले ७९ मुलुकबाट ५८ हजार ९ सय ७८ जना आउने चाहे पनि कतिपय मुलुकले उडान गर्दा सामान्य परीक्षण पनि नगरेको तथा कतिपय मुलुकबाट सानो संख्यामा मात्रै आउने चाहेका कारण समस्या भएको बताउँदै पीसीआर परिक्षणबिनै फिर्ता पठाउने भएपछि हालसम्म १० वटा उडान रद्द भइसकेको जानकारी गराए ।

बैठकमा समितिका सदस्यहरुले सरकारले विदेशमा अलपत्र परेका नागरिकको उद्दार कार्य ढिलो गरेको, अन्तर्राष्ट्रिय उडान गर्दा भाडादर निकै महँगो भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।