कालापानीमा टेलिकमको सीडीएमए, नेपालीमात्र हैन भारतीय पनि खुसी

कालापानीमा टेलिकमको सीडीएमए, नेपालीमात्र हैन भारतीय पनि खुसी

नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । सरकारले नयाँ नक्सा जारी गरी कालापानी तथा लिपुलेकलाई समावेश गरेसँगै उक्त टेलिकमले यसअघि उक्त क्षेत्रमा रहेको टावरलाई पुनः मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो ।

नेपालसहित भारतीय सिमा क्षेत्रका बासिन्दाले समेत टेलिकमको सीडीएमए प्रयोग गर्दै आएकोमा मौसमका कारण लामो समयदेखि त्यहाँ सेवा अवरुद्ध थियो । सरकारले पछिल्लो पटक छाङरुमा स्थापना गरेको सशस्त्र प्रहरी बलको बिओपीलाई लक्षित गरी टेलिकमले टावर सञ्चालनमा ल्याएको हो । सोमबार यसको सफल परीक्षण भएको हो ।

टेलिकमले सञ्चालनमा ल्याएको टावरबाट छाङ्रु, कालापानी, गुन्जी, कुटी र टिंकर क्षेत्रमा गुणस्तरिय मोबाइल सेवा उपलब्ध भएको छ । उक्त टावरबाट भारतको धार्चुलाका बासिन्दासमेत लाभान्वित हुनेछन् । उक्त क्षेत्रमा कुनै पनि भारतीय दूरसञ्चार सेवा प्रदायकको उपस्थिति छैन ।

टावर निमार्णका लागि आवश्यक प्राविधिकहरु तथा सामान गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भएको हो । टेलिकमका अनुसार यसअघि गृह मन्त्रालयले उक्त स्थानमा टेलिकम सेवा विस्तारका लागि अनुरोध गरेको थियो । त्यसैका आधारमा गृहमन्त्रालयको हेलिकोप्टरबाट सहयोगमा ढुवानीमा सहयोग पुर्‍याएको टेलिकमले जनाएको छ ।