अब सिमकार्ड लिन अनिवार्य रुपमा सक्कल परिचय पत्र आवश्यक

अब सिमकार्ड लिन अनिवार्य रुपमा सक्कल परिचय पत्र आवश्यक

सिमकार्ड लिनको लागि अब अनिवार्य रुपमा ग्राहकको सक्कल परिचय पत्र आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना सार्वजनिक गर्दै मोबाइल सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

अब नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति भई ग्राहकको सक्कल परिचय पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोाजिमको अन्य परिचय पत्रहरु) सँग प्रतिलिपी रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गर्नुपर्ने छ । 

यदि ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउन प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको छ ।

मोबाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक विक्रेताहरु मार्फत सिमकार्ड विक्री वितरण गरिरहदाँ कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । 

साथै निरिक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही हुने प्राधिकरणले जानकारी दिएको छ ।