सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि धनगढी उपमहानगरपालिका द्धारा वजेट विनियोजन

सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि धनगढी उपमहानगरपालिका द्धारा वजेट विनियोजन

धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले गर्दै आएको सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ ।

धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक बर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशिला मिश्र भट्टले पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिईन् ।  

‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ ।’ उपमेयर भट्टले भनिन्–‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ । आगामी बर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्ड कार्यक्रमको बजेटलाई निरन्तरता दिनेछौं ।’

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरपश्चिममा यो सम्भवतः पहिलो हो । स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको छ । 

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए । निति तथा कार्यक्रममा समावेश गरेर उपमहानगरपालिकाले त्यसको लागि  बजेट विनियोजन गरेर स्पोर्टस अवार्डको आयोजना थालेकोमा स्थानीय सरकारको तर्फमा सहयोग गरेको उनको भनाई छ । 

स्पोर्टस अवार्ड सरकारहरुले गर्नुपर्ने ठाउँमा झन आफुहरुले आयोजना गर्दा पनि कुनै स्थानीय तह र प्रदेश सरकारले सहयोग नगरेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए । मञ्चका अध्यक्ष सिताराम ओझाले धनगढी उपमहानगरपालिकाले निति तथा कार्यक्रममा समावेश गरेर स्पोर्टस अवार्डका लागी बजेट विनियोजन गरेकोमा धन्यावाद व्यक्त गरेका छन् । 
नेपाल खेलकुद पत्रकार मञ्चले देशको प्रतिनिधित्व गर्दै अन्तराष्टिय क्षेत्रमा उत्कृष्ट प्रदान गर्ने खेलाडीहरुलाई स्पोर्टस अवार्ड मार्फत सम्मान गर्दै आएको छ । अन्य स्थानहरुमा प्रदेश स्तरीय अवार्ड कार्यक्रमहरु आयोजना हुदै आएकोमा त्यहाँका प्रदेश सरकारहरुले ५ देखि १० लाख रकमसम्म विनियोजन गर्दै आएका छन् ।