एउटै गीत १२ भाषामा तयार पारेर डा.उपाध्यायले राखे विश्व रेकर्ड

एउटै गीत १२ भाषामा तयार पारेर डा.उपाध्यायले राखे विश्व रेकर्ड

 गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गरेका छन् । डा. उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राखेका हुन् ।

एल्बम ‘मायाको सागरमा सन्तोष श्रेष्ठको संगीत छ । गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ । सो एल्बमको एउटा गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा। उपाध्यायलाई हस्तान्तरण गरे । सामाजिक दुरी कायम गर्दै केही व्यक्तिको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री यादवले ‘उपाध्यायले गीत मार्फत् धेरैवटा विश्व रेकर्ड कायम राखेर नेपालीको गौरव बढाएको बताए । उनले आगामी दिनमा अझ धेरै रेकर्ड राख्न शुभकामनासमेत दिए ।

गीतकार उपाध्यायले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्ने गरेको बताए । आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत नलेखेको बताउँदै उनले लेख्दै जाँदा विभिन्न पुरस्कार, अवार्ड तथा रेकर्ड हात परेको बताए ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा। उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।