वर्षातले बिजोग गाउँका सडक : बिरामी र सुत्केरीलाई सास्ती

वर्षातले बिजोग गाउँका सडक : बिरामी र सुत्केरीलाई सास्ती

डोटी : दुई दिनदेखिको लगातारको भारी वर्षातका कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । वर्षातले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ ।

जिल्लाका मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट र चवराचौतारा सडक अवरुद्ध भएका छन् । जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् ।

गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समिति मार्फत मनपरी सडक खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको कपल्लेका स्थानीयवासी रतन ऐरले जानकारी दिए ।

सडक ग्रेड नमिल्ने गरी साँघुरो खनिएको स्थानीयवासीको आरोप छ । यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का डिलबहादुर सिंहले बताउनुभयो । उनले भने, “उपभोक्ता समितिले मनपरी ढङ्गले काटेका सडक बेकाम भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुश्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको ६ महिना मात्र सवारीसाधन सञ्चालन गर्न मिल्छ ।

हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेश्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने, “बाटो लैजाने नाममा जथाभाबी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भइहाल्छ ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिम छ । विनामापदण्डका ग्रामीण सडकमा ठूल्ठूला दर्जनौँ सवारी दुर्घटना हुँदा समेत स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ ।

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्था जस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका काँग्रेस नेता खडकबहादुर बोहराले बताए । उनले भने, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दुरवस्था छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनुपर्छ ।” 

जिल्ला समन्वय समिति, वडा कार्यालय र  निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु १० करोडभन्दा बढी खर्च यी सडकमा हुने गरेको छ । ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्ग र अति जोखिममा परेका छन् ।

वर्षा शुरु भएसँगै जिल्लाका ग्रामीण भेगका अधिकांश सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरीले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताए ।

उनले भने, “गाडीमा चढेको बानीले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी पर्यो कि बोक्न समस्या हुन्छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पुर्याउने होडबाजी चलेको छ । विगतमा नेताहरुले जनतासँग सडक पुर्याउने वाचा गरे अनुसार यहाँका गाउँमा सडक पुर्याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् ।