बाजुरामा पहिरोको जोखिम बढ्यो, सडक अवरुद्ध

बाजुरामा पहिरोको जोखिम बढ्यो, सडक अवरुद्ध

बाजुरा : लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ। भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ। पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो। 

साँफे-मार्तडी सडकअन्तर्गत् बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिक रूपमा बन्द भइरहने गरेको छ भने मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ। मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पुर्‍याएको छ। बाउली खोलाले पूरै बाटोका निशाना नै मेटाएर बगर बनाएको छ भने चुथीदेखि माथिको सडकमा माथिबाट आएको पहिरो खसेर सडक भासिएको छ। बीचमा पुगेको सवारीसाधन अलपत्र अवस्थामा छन्।     

ट्याक्टर बिचमै रोकिएपछि चालकसहित लिएको सामानसमेत अस्तव्यस्त अवस्थामा रहेको छ। पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँधुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ। खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ।    

अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिकरूपमा बाटो, घर, सडक सिँचाइ कुलो भत्किएर लाखौँको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। गाई गोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुस्किल बनेको छ। पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईको भनाइ छ।   

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ। भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ। कालोपत्रे गरिएको साँफे–मार्तडी सडकको मार्तडी बजार क्षेत्र नजिकै पूर्णरूपमा क्षति भएको छ। पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको डीएसपी भट्टराईले बताए।