फुटबलबाट सुदुरपश्चिम चिनाउने 'हमाल' !

फुटबलबाट सुदुरपश्चिम चिनाउने 'हमाल' !

चार बर्ष अघि सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो संस्करणको घोषणा गर्दा पुरस्कार राशि पनि सामान्य थियो । देशका अन्य क्षेत्रमा हुने गोल्डकप झै आयोजक सुदूरपश्चिम–११ क्लबले पनि विजेता मनाङ मस्र्याङ्दी क्लबलाई ५ लाख र उपविजेता संकटा क्लबलाई २ लाख पचास हजार दिएको थियो ।

तीन वर्ष अघि सम्पन्न दोस्रो संस्करणबाट भने खप्तड गोल्डकपले मोफसलका गोल्डकपमा सर्वाधिक धनराशीको पहिचान बनायो । ए डिभिजनका क्लबहरुको प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले ११ लाख तथा उपविजेता एपीएफले भने ५ लाख प्राप्त गरे । 

दुई बर्ष अघि तेस्रो संस्करणको पुरस्कार राशी अझ दोब्बर बनाईयो । विभागीय टीम नेपाल पुलिस क्लबले २१ लाख पायो । उपविजेता अर्को विभागीय टीम नेपाल एफिएफ क्लबलले १० लाख पुरस्कार पायो । जुन मोफसलको फुटबलमा एक क्रान्ति नै थियो । चौथो संस्करणमा पनि पुरस्कार राशी यथावत राखियो ।

चौथो संस्करण गत फागुनमा धनगढी रंगशालामा आयोजना भयो । चौथो संस्करणमा नगद पुरस्कार राशी वृद्धि नगरी पनि गोल्डकपले ईतिहास बनायो । घरेलु टोली सुदुरपश्चिम ११ ले चौथो संस्करणको उपाधि चुम्यो ।

यसले सुदुरपश्चिमको फुटबलमा नयाँ तरंग ल्याएको छ । छोटो समयमै चर्चा कमाउन सफल खप्तड गोल्डकप चौथो संस्करणसम्म आईपुग्दा खप्तड गोल्डकप मोफसलकै सर्वाधिक ठुलो धनराशीको गोल्डकप बनेको छ ।

तेक्वान्दो गुरुको फुटबल क्रान्ति

२०६८ सालमा सुदूरपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको उपाधि घरेलु टोली सुदूरपश्चिमले जितेको थियो । सुदूरपश्चिमले देशकै पाँच विकास क्षेत्र र विभागीय टोलीलाई पछि पार्दै त्यसै उपाधि जितेको थिएन् ।

प्रतिभावान खेलाडीहरुको मेहनतको प्रतिफल स्वरुप उसले उपाधि घरैमा राख्न सफल भएको थियो । तर विडम्बना सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाउने ती खेलाडीहरुको प्रतिभा पोख्ने ठाउँ भने कहीँ थिएन्। न सुदूरपश्चिममा कुनै गोल्डकप हुन्थ्यो, न सुदूरपश्चिमको कुनै क्लब थियो, जसबाट उनीहरु बाहिर हुने गोल्डकपमा सहभागी हुन सकून ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले वर्षमा आयोजना गर्ने एक, दुईवटा फुटबल कार्यक्रममा उनीहरु सीमित थिए । बाँकी समयमा स्थानीय स्तरमा हुने बोका कप, दशैँ कप खेल्दा उनीहरुको प्रतिभाप्रति न्याय भइरहेको थिएन ।

त्यो कुरा फुटबलप्रति सानैदेखि रुची भएका सुरेश हमाललाई बिझ्यो र उनले धारणा बनाए, सुदूरपश्चिमको एउटा क्लब र गोल्डकपको । ‘देशका चार विकास क्षेत्रमा गोल्डकपको आयोजना हुन्थ्यो,’ उनले सुदूरपश्चिम–११ क्लबको स्थापनाको उद्देश्य प्रष्टाए, ‘त्यहाँका खेलाडीले एक्स्पोजर पाइरहेका थिए । गोल्डकपहरु खेलिरहेका थिए ।

तर, राष्ट्रिय च्याम्पियन सुदूरपश्चिमका प्रतिभावान खेलाडीहरुले भने न कुनै गोल्डकप खेल्न पाएका थिए न कुनै एक्स्पोजर नै । त्यसकारण हामीले सुरुमा सुदूरपश्चिममा आफैं गोल्डकप सञ्चालन गर्ने र अरुलाई बोलाउँने तथा पछि अरुले बोलाउँदा खेल्न जाने योजना बनायौ ।’

सुरेश सानो उमेरदेखि नै फुटबलका पारखी थिए । तर, परिवारको सल्लाहमा उनी मार्सल आर्टस्को प्रशिक्षण लिन पुगे । तेक्वान्दोका उनी सेकेन्ड डान हुन । उनले थुप्रै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि आफ्नो कौशल देखाइसकेका छन् ।

सोही क्रममा उनले राखेपबाट २०५३ सालमा तेक्वान्दो प्रशिक्षकका स्थायी नियुक्ति पाए । दुई वर्ष लगातार तेक्वान्दो प्रशिक्षण गराएपछि उनको सरुवा घरबाट टाढा हुने भो । तर, उनलाई घर छाड्ने मन लागेन् र कराँतेको प्रशिक्षकबाट राजीनामा दिँदै सानैदेखि मनपर्ने खेल फुटबलमा फर्कने निर्णय लिए ।

तेक्वान्दो प्रशिक्षकबाट राजीनामा दिएपछि उनले आफ्नो गाउँ भजनी (कैलालीको दक्षिण पुर्वी क्षेत्र) मा हिमालय फुटबल  क्लबको स्थापना गरे । कैलालीका गाउँबाट गाउँबाट खेलाडी जुटाएर उनले हिमालयको टिम पनि बनाए भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरे । झण्डै २५ बर्षदेखि आयोजना हुदैं आएकोे ‘लालबोझी कप’ प्रतियोगिता आयोजना गरिदैं आएको थियो ।

जसमा सहभागिता जनाउन देशका विभिन्न स्थानका साथै भारतको उत्तर प्रदेशका टोलीहरु पनि आउँने गर्थे । हमालकै सक्रियतामा क्लबले आफ्नै कार्यालय पनि स्थापना गरेको छ । र, आगामी समयमा पनि हिमालय उत्तिकै सक्रिय भएर फुटबल विकासमा लागिरहेको हमाल बताउँछन् ।

२०५९–६० सालमा गाउँमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । कहाँ कसलाई के हुने हो ? गाउँमा त्रासको वातावरण थियो । अर्कातिर छोराछोरी पनि ठूला हुन थालेपछि उनीहरुको पढाईका लागि सुरेश परिवार सहित धनगढी झर्यो ।

छैठौंको उपाधि जिताउँदाका मेरुदण्ड
धनगढी झरेपनि सुरेशको फुटबलप्रतिको मोह घटेन । उनले कैलालीका विभिन्न क्षेत्रका खेलाडीलाई समेट्दै विजय स्पोर्टस क्लब गठन गरे र नियमित प्रशिक्षण सुरुवात गराए । सुरेशले विजय क्लबको प्रशिक्षकको जिम्मा दिपेश योन्जन लामालाई दिएका थिए ।

त्यतिबेला खेलाडीलाई पैसा दिन सक्ने अवस्था थिएन् तर सुरेशले प्रशिक्षकलाई भने खाजा खर्च वापत मासिक १५ हजार दिन्थे । त्यो रकम कहीँबाट आउँदैन् थ्यो, उनले आफै खल्तीबाट दिनुपथ्र्यो ।

विजय स्पोर्टसले सुदूरपश्चिममा हुने विभिन्न प्रतियोगिता सहित भारतको उत्तर प्रदेशमा हुने प्रतियोगिता खेल्थ्यो। ‘हामी लखनउ, दिल्ली, नैनीताल लगायतका क्षेत्रमा वर्षका आठ दश वटा प्रतियोगिता खेल्थ्यौ,’ सुरेशले सम्झिए, ‘तिनै खारिएका खेलाडीहरुले छैठौँमा सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका थिए ।’

विजय स्पोर्टसका अधिकांश खेलाडीहरु नै छैठौं खेलेको टिममा थिए । तीनै खेलाडीहरुले नै घरेलु दर्शक सामू सुदूरपश्चिमका लागि गर्विलो स्वर्ण पदक जितेका थिए । छैठौंपछि स्वर्ण पदक जितेका खेलाडी तथा सुदूरपश्चिमको फुटबल विकासका राज्यका निकायले केही गर्ला कि भन्ने सुरेशलाई आशा थियो तर एक दुई वर्षसम्म पनि कसैले केही पहल नगरेपछि सुरेश आफैले सुदूरपश्चिम–११ टोलीको निर्माण सुरु गरे ।

प्रायोजक बिनै गोल्डकप
‘सुदूरपश्चिमका खेलाडीहरु राम्रो नभएको भए च्याम्पियन हुन्थेनन् तर, ती राम्रा खेलाडीहरुले प्रतियोगिता नै खेल्न पाएका थिएनन्,’ सुरेशले भने, ‘राखेपले आयोजना गर्ने प्रतियोगिता बाहेक अन्य कुनै प्रतियोगिता ती खेलाडीहरुले खेल्न पाइरहेका थिएनन ।

सुदूरपश्चिमको क्लब नभएको अवस्थामा अन्य क्षेत्रमा हुने गोल्डकपमा पनि कसले बोलाउँने ? त्यही भएर हामीले क्लब स्थापनासँगै गोल्डकप घोषणा गरेका हौं ।’ सुरेशको सक्रियतामा २०७३ मा फुटबललाई मायाँ गर्नेहरुको समूह मिलेर सुदूरपश्चिम–११ नामक क्लब गठन गरे ।

सोही क्लबले उद्देश्य अनुरुप तीन महिनामै खप्तड गोल्डकपको पहिलो पहिलो संस्करण घोषणा गर्यो । तर, जति प्रयास गरेपनि पहिलो संस्करणमा उनीहरुले प्रायोजक पाउन सकेनन् । तर, क्लबका सदस्यहरुले हिम्मत हारेनन् । मुख्य प्रायोजक बिना नै प्रतियोगिता सञ्चालन गरे ।

‘पहिलो संस्करणको पुरस्कार राशि जम्मा पाँच लाख थियो, तर मुख्य प्रायोजक नै नपाएपछि प्रतियोगिता मुख्य प्रायोजना बिना नै सञ्चालन गर्नुपर्यो,’ सुरेशले पहिलो संस्करणको सम्झना गरे, ‘यसमा ४६ लाख खर्च भएको थियो । त्यसको आधा बढी रकम क्लबका सदस्यहरुले खल्तीबाट हालेका थिए ।’

दोस्रो संस्करणमा भने कांग्रेस नेतृ आर्जु राणा देउवाले प्रायोजक जुटाउनमा ठूलो सहयोग पुर्याइन । तत्कालिन चुनावी अवस्थामा आर्जु सोही क्षेत्रबाट प्रतिनिधि सभाको चुनावमा उठेकी थिइन् । पराजित भएपनि उनले त्यस क्षेत्रको फुटबल विकासमा आफ्नो भुमिका देखाईन् ।

‘दोस्रो संस्करणमा पुरस्कार राशि दोब्बर पारेपछि लागत पनि बढेको थियो,’ सुरेशले भने, ‘पहिलो संस्करणमा झै खल्तीबाट पैसा हाल्नुपर्ने अवस्था नआओस् भनेर हामी सहयोगका लागि विभिन्न नेताहरुकोमा पनि धाएका थियौं । कसैले चासो देखाएनन् तर आर्जुले भने हामीलाई ४० लाख बराबरको प्रायोजन खोजिदिएर ठूलो सहयोग गरिन् ।’

तेस्रो संस्करण र चौथो संस्करणमा पनि आर्जुले पहिले झै प्रायोजन जुटाउँन सहयोग गरिदिएपछि पछिल्ला दुई संस्करणलाई अझै भव्य बनाउँन आयोजकलाई सहज भयो । क्लबका अध्यक्ष सुरेश आफै एक महिना बिरामी भएर दिल्लीमा उपचार गराएका फर्किएका छन् ।

चिकित्सकले उनलाई कम बोल्न सुझाव दिएका छन् तर गोल्डकपको दिन नजिकिँदै गर्दा उनको व्यस्तता झनै बढेको थियो । एन्फाले उपलब्ध गराएको समयमा जसरी पनि गोल्डकप सम्पन्न गर्ने उनको दृढतालाई पुरा गरेरै छोडे ।

खेलाडीलाई तलब 
सुदूरपश्चिम–११ ले स्थापना भएको वेला देखि नै  मोफसलका गोल्डकप खेल्दै आएको छ । जसमा क्लबले गत फागुनमा आयोजना भएको खप्तड गोल्डकपको ऐतिहासिक उपाधि चुमेको छ । यसअघि राजर्षी जनक कप फुटबल, सर्लाही र नेपालगंगज गोल्डकपको उपाधि उचालेको थियो । 

चौथो संस्करणको आयोजनापछि क्लबलाई व्यवसायिक हिसाबले अघि बढाउने सुरेशको योजना थियो । तर यो योजनालाई कोरोनाले प्रभावित गरि दिएको छ । ‘हिजोसम्म खेलाडीहरुले बिना तलब निश्वार्थ हिसाबले खेलिरहेका थिए,’ सुरेशले भने, ‘तेस्रो संस्करणपछि भने हामी व्यवसायिक हिसाबमै अघि बढेर उनीहरुलाई तलब दिएर राखेका छौं ।

अब आर्थिक रुपमा क्लबलाई सुदृढ बनाउँदै अघि बढ्ने योजना बनाईएको कोरोनोले अलि पछि धकेको छ । सुरेशले बनाइदिएको प्लेटफर्मबाट अहिले सुदूरपश्चिम एघारका ११ जना खेलाडी ए डिभिजनका विभिन्न क्लबमा आवद्ध भएर सहिद स्मारक ए डिभिजन लिग समेत खेलिसकेका छन् । 

पुरस्कार रकम बढ्दैन्
एन्फाले खप्तड गोल्डकपलाई वर्गीकरण गर्दा ‘क’ श्रेणीमा राखेको छ । ‘क’ श्रेणीको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विगत तीन वर्षमा लगातार राशि बढाए पनि तेस्रो संस्करणबाट भने बढाईएको छैन् ।

‘अब हामी पुरस्कारलाई प्राथमिकता दिँदैनौं,’ भविष्यको योजना सुनाउँदै उनले भने, ‘विजेता पुरस्कार भन्दा अन्य भत्ताहरु बढाउँनेछौं । अहिले म्याच मनी २० हजार दिँदैछौं भने अर्कोपटक ४० हजार पुर्याउँने छौं । दोस्रो कुरो अहिलेसम्म नेपालमा महिला गोल्डकप भएको छैन् ।’

बाढीमा फुटबल हुर्काउने ‘जीवनदाता’

विस २०७३ सालमा सुदूरपश्चिममै पहिलो पटक धनगढीमा गोल्डकप फुटबलको आयोजना गर्दा धेरैलाई आश्चर्य लागेको थियो । पिछडिएको क्षेत्रमा निजी क्षेत्रको सर्वाधिक धनराशीको फुटबल आयोजना गर्न आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबलाई पनि सजिलो थिएन् ।

वाढीमा फुलेको तर, विभिन्न बाधा र समस्याका बाबजुत पहिलो संकरणको ’सुदुरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिता सम्पन्न भयो । ’ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले पहिलो संकरणको उपाधिमा कब्जा जमायो ।  सो सस्ंकरणमा नेपालका १० र भारतका २ गरी १२  टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको प्रतियोगिता सफलतापुर्वक सम्पन्न भयो ।

विजेताले ५ लाख नगद तथा उपविजेताले २ लाख ५१ हजार नगद परपर गरेका थिए । यस्तै उत्कृष्ट खेलाडीले एक मोटरसाईकल र अन्य विभिन्न १० विधामा उत्कृष्ट खेलाडीले समान १५, १५ हजार नगद पुरस्कार पाएका थिए  ।

तर, आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबलाई प्रतियोगिता गर्दा लागेको खर्च तिर्न हम्मे हम्मे परेको थियो । जसको मुख्य कारण थियो, ’प्रतियोगिताका लागि सहयोगका लागि आश्वासन दिएकाहरुले सहयोग नगर्नु ।     

पहिलो संस्करणमा घाटामा गएपनि सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पुसमा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्यो । आयोजकले पहिलो संस्करणको भन्दा दोस्रो संस्करणमा दोब्बर पुरस्कार राशी राखेको थियो । दोस्रो संस्करणको विजेताले ११ लाख ११ हजार १ सय ११  र उपविजेताले ५ लाख ५५  हजार ५ सय ५५ नगद पाएका थिए ।

एक उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गरे ।  दोस्रो संस्करणमा विभागीय टिम त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्यो । दोस्रो संस्करणसम्म आईपुग्दा आयोजकले मुख्य प्रायोजक समेत प्राप्त गर्न सफल भयो । दोस्रो संस्करणको खप्तड गोल्डकपसंग सिजी ग्रुपको नेपाल आईस जोड्नि पुग्यो ।

त्यसपछि तेस्रो संस्करण आयोजनामा पनि पुरस्कार राशी दोब्बर पारियो । अर्थात मोफसलकै सर्वाधिक धनगढीको गोल्डकप । तेस्रो संस्करणको विजेताले २१ लाख र उपविजेताले ११ लाख नगद पाएका थिए । एक उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गरे ।  तेस्रो संस्करणमा विभागीय टिम नेपाल पुलिस क्लब च्याम्पियन बन्यो ।

दुई संस्करणको आयोजनापछि अखिल नेपाल फुटबल संघले गोल्डकपहरुको श्रेणी विभाजन समेत गर्दा जसमा खप्तड गोल्डकप ’क’ श्रेणीमा पर्न सफल भएको छ । चौथो संस्करण गत फागुनमा धनगढी रंगशालामा आयोजना भयो ।

चौथो संस्करणमा नगद पुरस्कार राशी वृद्धि नगरी पनि गोल्डकपले ईतिहास बनायो । घरेलु टोली सुदुरपश्चिम ११ ले चौथो संस्करणको उपाधि चुम्यो । यसले सुदुरपश्चिमको फुटबलमा नयाँ तरंग ल्याएको छ । छोटो समयमै चर्चा कमाउन सफल खप्तड गोल्डकप चौथो संस्करणसम्म आईपुग्दा खप्तड गोल्डकप मोफसलकै सर्वाधिक ठुलो धनराशीको गोल्डकप बनेको छ ।

सुदूरपश्चिममा ठुलो प्रतियोगिता कसरी सम्भव भयो त ?

नेपालको सुदुर पुर्वी जिल्ला ईलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा बार्षिक गोल्डकप फुटबलहरु संचालन हुँदै आईरहेको थियो । तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन ।

सुदूरपश्चिमको फुटबल बिकासमा सक्रिय युवाहरुलाई सुदूरपश्चिममा गोल्डकप नहुनुको अभाव खड्किएको थियो । त्यही अभावलाई चिर्न फुटबलमा लागेका युवाहरु मिलेर सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब गठन गरे ।

सुदूरपश्चिमको पहिलो गोल्डकप आयोजना गर्न लागि परे । सुदूरपश्चिममा पहिलो गोल्डकपको आयोजना गर्दा आवश्यकता परे व्यक्तिगत खर्च गर्ने प्रण गरे । सोही प्रणले पहिलो संस्करणको खप्तड गोल्डकप आयोजना भयो । चौथोे संस्करणसम्म आईपुग्दा सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता बन्न पुगेको छ ।

बाढीग्रस्त क्षेत्रमा सक्रिय हिमालय युवा क्लबले सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै सुदुरपश्चिम ११ को नामले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन थालेपछि सुरेश हमालको नेतृत्वमा फुटबल प्रेमी युवाहरु मिलेर सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब दर्ता भयो ।

कैलाली जिल्ला खेलकुद विकास समितिमा तत्कालीन अध्यक्षको रुपमा दिपक बहादुर सिंह आएपछि फुटबल अभावलाई कम गर्न बनाईएको क्लबले अहिले सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता धनगढीमा गराउन सफल भईरहेको छ । बाढीग्रस्त क्षेत्रबाट आएको फुटबललाई निजि क्षेत्रकै सर्वाधिक ठुलो धनराशीको बनाउने अभियानमा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिंहको योगदानलाई कसैले बिर्सन सक्दैन् ।

बाढीमा हुर्किएको फुटबल 

कैलालीको साविकको लालवोझी गाविस अर्थात अहिलेको भजनी नगरपालिका, बाढीको चपेटामा पर्ने ठाउँ हो । प्रत्येक बर्ष आउने बाढीले यस क्षेत्रमा क्षति गर्ने गर्छ । हरेक बर्षातामा पुरै गाउँ डुवानमा पर्ने हुँदा करौडौ धनजनको क्षति पनि हुने गरेको छ । बर्षात नजिकिदै जाँदा लालवोझी गाविसका वासिन्दाहरुमा चिन्ता र दुःखले पिरोल्ने गरेको छ ।

बर्षमा एक पटक उनीहरुलाई बाढीको चिन्ता छ हुन्छ तर त्यही बाढीले हुर्काएको क्लबबाट सुदुरपश्चिमको धनगढीमा पनि गोल्डकप फुटबल सम्भव भएको छ । त्यही बाढीग्रस्त क्षेत्रमा सक्रिय हिमालय युवा क्लब अहिले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब बनेको छ । यदपी सो क्लब अहिले पनि लालवोझीमा रहेकै छ । 

पछिल्लो पटक आफै आयोजना गरेको सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि चुमेको सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबले २०७२ सालमा नेपालगंज गोल्डकपको उपाधि समेत चुमिसकेको छ । राजर्षी गोल्डकपको उपाधि समेत सुदूरपश्चिम ११ ले जितेको छ ।

क्लबका खेलाडीहरु सहिद स्मारक ’ए’ डिभिजन लिगका विभिन्न क्लबबाट समेत खेलिरहेका छन् । बिस २०७३ सालमा सम्पन्न ’बी’ डिभिजन लिगमा समेत सुदूरपश्चिमका खेलाडीहरु च्यासलबाट खेल्दै क्लबलाई च्याम्पियन बनाउदै ’ए’ डिभिजनमा बढुवा समेत गराएका थिए । पछिल्लो समय सुदूरपश्चिममा फुटबलले गति लिन थालेको छ ।

तर, सुदूरपश्चिमले आशा गरेको जस्तो सफलता पाएको छ । छैटौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको पुरुष टिमले जितेको स्वर्ण नै यस क्षेत्रको सर्वाधिक ठुलो सफलता हो । ९ वर्ष अघिको त्यो ईतिहास सुदुरपश्चिमबासीले विर्सेका छैनन्  । 

त्यसयता सुदूरपश्चिममा फुटबल सुस्ताएको थियो ।  तर, त्यहिँ स्वर्ण जित्दा टिममा रहेका खेलाडीहरु एकजुट भएर अहिले ४० लाख नगद धनराशीको फुटबल प्रतियोगिता धनगढीमा गरिरहेका छन् । बाढीमा हुर्किएको क्लबले सुदूरपश्चिमको फुटबललाई नयाँ जीवन दिइरहेको छ ।