डडेल्धुरा बस दुर्घटना अपडेट : १४ जनाको सनाखत

डडेल्धुरा बस दुर्घटना अपडेट : १४ जनाको सनाखत

डडेल्धुरा : डडेल्धुरा बस दुर्घटनाका मृतक १८ जनामध्ये १४ जनाको सनाखत भएको छ। डा।केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–ं४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोपा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, सोही ठाउँका २२ वर्षीय तिलक खाती, त्यहीँका १७ वर्षीय टेक धामी, नवदुर्गा गाउँपालिका–४ की १८ वर्षीय माया रावल, डोटी शिखर नगरपालिका–१० का १६ वर्षीय रोहित बलायर, सोही नगरपालिका ७ बस्ने २२ वर्षीय योगेन्द्र बोहरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।  

यस्तै मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–७ बस्ने २४ वर्षीय शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, सोही ठाउँकी २० वर्षीया शारदा कठायत, सोही नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायत रहेका छन्।

बाँकी ४ जनाको सनाखत हुन बाँकी रहेका छन्। दुर्घटनामा परी २७ जना घाइते छन्। घाइते मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो।

बसमा ४३ जना यात्रु सवार रहेको बुझिएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनाको कारण खुलेको छैन।