जिल्ला सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

जिल्ला सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

बझाङ : बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे संगै बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । तीनै तिर बाट सेती नदी र बाहुलीगाड खोलाले बाट कटान सुरु भए पछि जोखीम बढेको हो ।

जोखिम बढे संगै सदरमुकामवासीमा कुन वेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको छ । सदरमुकामको पुर्वी भाग बाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमाबाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको छ ।

दुई बर्ष अघि असार महिनामा बाहुलीगाड खोलामा आएको बाढीले सदरमुकामलाई जिल्लाका दक्षिण तथा पश्चिमी क्षेत्रकाहरु जोड्ने झोलुङ्गे पुल बगाएको थियो । सोही दिन आएको बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकाम तिरको क्षेत्र कटान सुरु गरे पछि सदरमुकामबासीहरु बढी खतराको महसुस गर्न थालेका छन ।

बाहुलीगाडमा पक्की पुल देखि तल तटबन्धन भई रहेको भए पनि जोखिम भने कायमै रहेको छ । बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले आफुहरु त्रसित भएको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । पहिला सिमखेत तिर भएर बग्ने बाहुली गाड अहिले  चैनपुर तिर फर्किएको छ । 

बहुलिगाडले बेला बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।  दुई बर्ष अघि ३२ वर्ष देखी नबगाएको झोलुङ्गे पुल त हेर्दा हेर्दै बगायो । चारै तिर बाट कटान गरि रहेको छ कुन वेला बगाएर लैजान्छ भन्ने चिन्ताले पिरोली रहेको स्थानिय धर्मराज रसाईलीले बताए  ।

यता मनसुन सुरुभए संगै बझाङका अधिकांस ठाँउ वाढी पहिरोको जोखिम बढेकाले नदि तथा खोला किनाराका वस्तीहरुमा बसोवास गरिरहेकाहरुलाई विशेष सर्तक रहन जिल्ला विपद व्यवस्थापन शाखाले अनुरोध गरेको छ ।

त्यस्तै  खोला तथा नदीले बगाई ल्याएको दाउरा, काठ संकलन गर्न, नदि किनारमा नजान र बर्षातको समयमा जथाभावि हिडडुल नगर्न पनि आग्रह गरेको छ ।