बाजुरामा झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्यो

बाजुरामा झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्यो

बाजुरा : बाजुराका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। पुल निर्माण भएको वर्षौँसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन्।

लगातारको अविरल वर्षाले त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बाढीको जोखिममा रहेको छ। पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको स्थानीयवासी राजेश खत्रीले बताए। लगातार वर्षा भएपछि पुलमाथि नै पानी आउने गरेको बेला आवतजावत पनि बन्द हुने गरेको छ। स्थानीयवासीलाई बजार जान, दूध, दहीबजार पुर्‍याउन निकै सास्ती भएको खत्रीको भनाइ छ।   

जिल्लाका अन्य ठाउँका झोलुङ्गे पुल पनि जोखिममा रहेका छन्। बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, अछामको साँफे, बूढाबगरलगायत ठाउका पुलहरू जोखिममा छन्। त्यस्तै कर्णाली नदीको पिलुचौर– जुकोट पुल पनि जोखिममा रहेको स्थानीयवासी बताउँछन्। 

बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल अहिले खोलाको बगरमा लछारिएको छ। पानी आउने ठाउँमा मात्र थोरै माथि छ। त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताए। कर्णाली नदीमै रहेका वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।