बैतडीमा एसईईको आन्तरिक मूल्यांकन सम्पन्न

बैतडीमा एसईईको आन्तरिक मूल्यांकन सम्पन्न

बैतडी : लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन्।

जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए।

विद्यालयले प्रथम त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा पठाएका छन्, उनले भने, “विद्यालयहरूले पठाएको आन्तरिक मूल्याङ्कनको नतिजा एकीकृत गरेर बोर्डमा पठाउने तयारी भएको छ।” 

यस वर्ष जिल्लाका पाँच हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन्। जिल्लाका दुई हजार ७२८ छात्र र दुई हजार ९६६ छात्राको आन्तरिक मूल्याङ्कन गरिएको हो।

गत  चैत ६ गतेदेखि हुने तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो।

लकडाउनका कारण रोकिएको एसईई गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नगर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाटै ग्रेड सिट तयार पार्ने निर्णय गरेको हो।