निर्वाचन आयोगले दियो ‘जनता समाजवादी पार्टी’लाई आधिकारिकता

निर्वाचन आयोगले दियो ‘जनता समाजवादी पार्टी’लाई आधिकारिकता

जनता समाजवादी पार्टी (जसपा) ले दल दर्ताको आधिकारिकता पाएको छ। निर्वाचन आयोगले आइतबार सो दललाई जनता समाजवादी पार्टी बनेको आधिकारिकता दिएको हो।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले एकीकरण गरेर जनता समाजवादी पार्टी घोषणा गरेका थिए। सरकारले वैशाख ८ गते दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि महन्थ ठाकुरको संयोजकत्वमा रहेको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले त्यसलगत्तै दुई पार्टी एकताको घोषणा गरेका थिए।

निर्वाचन आयोगकी सचिव देव कुमारी गुरागाईले दुवै दल एक भएपछि बनेको जसपालाई निर्वाचन चिह्न र झण्डा असार २४ गते दिइएको जानकारी दिइन्।

एकतापछि जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी दल दर्ता प्रमाणपत्र र आधिकारिक पत्र प्राप्त गरेको जनाएका छन्।

एकतापछि दलको कार्यालय बालकुमारी ललितपुरमा रहनेछ। जसपामा ३३ सांसद छन्।