‘साइली’लाई सर्वाधिक अवार्ड

‘साइली’लाई सर्वाधिक अवार्ड

काठमाडौं– युट्युबमा रुचाइएको गीत ‘साइली’ले राजधानीमा शुक्रबार सम्पन्न ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा सर्वाधिक चार विधामा अवार्ड जितेको छ।

गीतका लागि गायक हेमन्त राना, संगीतकार कालीप्रसाद बास्कोटा, संगीत संयोजक रिकेश रानाले एक–एक अवार्ड चुम्दा गीतले ‘रेकर्ड अफ द इयर’को विधामा पनि बाजी मा¥यो । गायक शिव परियारले गीत ‘छहरे खोला’का लागि ‘उत्कृष्ट गायक’को अवार्ड पाउँदा गायिका बानिका प्रधान ‘पूर्णिमाको रात’का लागि ‘उत्कृष्ट गायिका’ ठहरिइन्।

अवार्डमा नवगायिका वर्तिका इएम राई ‘खै’का लागि ‘उत्कृष्ट महिला पप’ र ‘उत्कृष्ट रचना’, रक ब्यान्ड १९७४ एडीको ‘हजार सपना’ एल्बम ‘एल्बम अफ द इयर’, गीत ‘च्याङ्बा’का लागि एक्सिस व्याण्ड ‘रक भोकल पर्फमेन्स’ संगीतकार हरि लम्सालको गीत ‘आज फेरि’का लागि ‘बेस्ट कम्पोजिसन’ बने।

लोक गायक विरही कार्कीको गीत ‘आमाको तस्बिर’ अवार्डमा ‘फोक रेकर्ड अफ द इयर’ हुँदा पाश्र्वगीतमा फिल्म ‘लुट २’ को ‘ठमेल बजार’ उत्कृष्ट ठहरियो । यो गीतका लागि संगीतकार कालीप्रसाद बास्कोटाले नै अवार्ड जिते । समूह गायनमा ‘सत्याकृत’ को रक भजन ‘गणेश गणनायक’ अब्बल बन्यो । सांगीतिक जोडी उदय र मनिला सोताङ गीत ‘दुई दिनको’का लागि ‘बेस्ट भोकल कोलाब्रेसन’ विधामा उत्कृष्ट ठहरिए । नयाँ गायक समिक सापकोटा ‘सधैं सधैं’का लागि ‘नवप्रतिभा अवार्ड’को हकदार बने ।
कार्यक्रममा ‘म पत्थरको देउता होइन’, ‘बितेका कुराले ’, ‘म त दूरदेखि आएँ’, ‘हररात सपनीमा’ गीतका गायक दीप श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइएको थियो।

कार्यक्रममा शिव परियार, अजर जंगम, तृष्णा गुरुङ, काठमाडौं ज्याज कन्जर्भेटरी आन्सम्बल, सत्याकृत, पहेंलोबत्ती र मेन्टल रेडियोलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।