अब नेपाल टेलिकमको पोस्टपेड सिम ५ सय रुपैयाँमै पाइने

अब नेपाल टेलिकमको पोस्टपेड सिम  ५ सय रुपैयाँमै पाइने

अब ५ सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड पाइने भएको छ । नेपाल सरकारको निर्णयानुसार साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकाले अब ५ सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड पाइने भएको हो । 

हाल पोस्टपेड सिम पहिलो पटक खरिद गर्दा लागु भइरहेको ५००  रुपैयाँ स्वामित्व शुल्क अब लाग्ने छैन । अब प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ ।

सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि रुपैयाँ ९४५ लाग्ने गरेकोमा अब ५०० रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ । ५०० रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा  ४६० रुपैयाँ क्रेडिट लिमिट रहने छ । 

पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । 

पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् ।

यस अन्तर्गत बेसिक प्याक ३८४ रुपैयाँ, प्रिमियम प्याक ७४९ रुपैयाँ, गोल्ड प्याक ९९९ रुपैयाँ, डायमन्ड प्याक १४९९ रुपैयाँ र प्लाटिनम प्याक २४९९ रुपैयाँमा खरिद गर्न सकिने छ । टेलिकमको एप प्रयोग गरेर तथा *१४१५# डायल गरेर पनि यी प्याक खरिद गर्न सकिने छ ।