चिसोमा हृदयघातको सम्भावना बढी, जाडो महिनामा देखिने प्रमुख रोग यी हुन्

चिसोमा हृदयघातको सम्भावना बढी, जाडो महिनामा देखिने प्रमुख रोग यी हुन्

जाडोयाम शुरु भएसँगै धेरैमा मौषमी रुघा खोकी लगायतका समस्या देखापर्छन् । त्यस्तै जाडो मौसममा अन्य केही समस्याहरु देखा पर्नसक्छन् त्यसका लागि तपाई जानकार रहीरहन आवश्यक हुन्छ ।

इन्फ्लुएन्जा भाइरस : हावाको माध्यमबाट सर्ने यो भाइरस यो सिजनमा पनि देखा परिसकेको छ । छिटो सर्ने र समुदायलाई नै संक्रमित गर्न सक्ने भएकाले जोखिममा रहेका वर्गले यसप्रति चनाखो हुनुपर्छ ।

दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका तथा वृद्धवृद्धा ९६५ वर्ष माथिकाहरू यो भाइरसको जोखिममा पर्ने समूह हुन् । घरमा अरू सदस्यलाई संक्रमण नसरोस् भनेर घरबाहिर हुँदा हातलाई बारम्बार नाक, मुख तथा आँखामा लानु हुँदैन ।

संक्रमित व्यक्तिभन्दा एक मिटर परै बस्नुपर्छ र घर फर्किएपछि राम्रोसँग साबुन–पानीले हात धुनुपर्छ । संक्रमित भैसकेको अवस्थामा भने घरमा अलग्गै बस्नुपर्छ ।

घरका कुनै सदस्य जोखिममा भए एक हप्ता–दस दिनजति दूरी कायम राखे परिवारमा अरूलाई सर्ने सम्भावना कम हुन्छ । हाल यो भाइरसविरुद्धको खोप सर्वसुलभ भैसकेकाले जोखिममा रहेका जो–कोहीले यो खोप लिन सक्छन् ।

कोल्ड डायरिया : यो जाडोयाममा बढी देखिने एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकालाई खासगरी रोटाभाइरस नामक कीटाणुले दुस्ख दिन्छ भने वयस्कहरूमा नोरो भाइरसले डायरिया र बान्ता गराउँछ । रोटाभाइरसले तीन वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्छ ।

यो भाइरस विश्वमै पखाला र बान्ताबाट हुने बालबालिकाहरूको मृत्युको सबैभन्दा प्रमुख कारण हो । नेपालमा यसको खासै गहिरो अध्ययन नभए पनि पखाला र बान्ताका कारणले भर्ना हुने बालबालिकामध्ये झन्डै ३३ प्रतिशत यही भाइरसबाट प्रभावित भएको पाइन्छ । एसियाली देशहरूको समग्र अध्ययन गर्ने हो भने यसकै कारणले झन्डै ५० प्रतिशत बालबालिका पखाला र बान्ता भएर भर्ना भएको पाइन्छ ।

‘विन्टर भोमिटिङ बग’ को नामले समेत चिनिने नोरो भाइरस खासगरी वयस्कहरूमा देखिने गरेको छ । पानी जस्तो पातलो दिसा र बान्ता हुनु यसका मुख्य लक्षण हुन् भने संक्रमण भएको दुई दिनभित्र यी लक्षण देखापर्छन् । संक्रमित व्यक्तिको दिसा वा बान्ता, खानेकुरा तथा पानीबाट यो भाइरस सहजै सर्न सक्छ ।

यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरूमा अचानक प्रकोपका रूपमा देखा पर्न सक्छ । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट जोगिने मुख्य उपाय हो । रोटा भाइरसविरुद्धको खोप विकास भैसकेको र यो अत्यन्तै प्रभावकारी देखिएकाले नेपालमा पनि यसलाई बालखोप कार्यक्रमअन्तर्गत राख्नुपर्ने देखिन्छ ।

उच्च रक्तचाप : यो समस्या भएका मानिसहरूले आफ्नो रक्तचापप्रति विशेष ध्यान पुर्‍याउनुपर्छ । जाडोमा ह्दयघातको सम्भावना पनि वृद्धि हुन्छ । यो समयमा चिसोका कारणले रक्तचाप अचानक बढ्न गै मुटुलाई बढी भार पर्न सक्छ । यो समयमा आफूले लगाउने पहिरन तथा आफू बस्ने कोठा न्यानो हुनुपर्छ । घर बाहिर निस्कँदा न्यानो टोपी, गलबन्दी, पन्जा आदि लगाउनुपर्छ ।

दम : चिसो हावाका कारण दमका बिरामीको श्वास–प्रश्वासका नलीहरू साँगुरिँदा सास फेर्न गार्‍हो हुन्छ । यस क्रममा खोकी लाग्ने तथा छाती कसिनेसमेत हुन सक्छ । त्यसमा पनि फ्लु भाइरसले आक्रमण गरे स्वास्थ्य अवस्था गम्भीर हुन पुग्छ । तसर्थ खासै जरुरी काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन भने निस्कनैपरे हलुकासँग स्कार्फले नाक–मुख छोपेर निस्कनुपर्छ । त्यस्तै हरेक वर्ष फ्लुविरुद्धको खोप लगाउन सकिन्छ । दमको नियमित औषधि छोड्नु हुँदैन ।

जोर्नीको पीडा : चिसोमा जोर्नी दुख्ने समस्यासमेत देखा पर्छ । यसको ठोस कारण देखाउन नसकिए पनि जाडोमा शारीरिक क्रियाकलाप कम हुनाले बढी पीडा भएको अनुभूति हुने अनुमान गरिन्छ । तसर्थ घरमै बसेर शारीरिक क्रियाकलाप जस्तै संगीत सुन्दै नाच्ने, घरको सरसफाइ गर्ने, घर वरिपरि बगंैचामा व्यस्त रहने तथा घरभित्रै पनि यता–उता हिँडडुल गर्दा पनि जोर्नीको पीडा कम हुन्छ ।

मद्यपान गर्नु हुँदैन

जाडोमा रक्सीको सेवन घातक हुन्छ । रक्सीले शरीरभित्र रहेको तातोलाई बाहिर निकाल्ने काम गर्छ, जसले गर्दा खाउन्जेल र केही समयका लागि तातो भएको अनुभूति भए पनि रक्सीको असर सकिएपछि भित्री तातो पनि हराउँछ र तातो उत्पादन गर्ने शक्तिमा ह्रास आई कठ्याग्रिएर मृत्यु हुने सम्भावना वृद्धि हुन्छ ।